वर्ष २०७९ : प्रणालीमा थपियो पाँच सय मेगावाट बिजुली

आजभोलि

काठमाडौं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ ।

त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् । ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो ।

प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो । वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ ।

प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् । ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ । कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रैमा व्यावसायिक उत्पादन सुरु हुनेछ ।

माथिल्लो सोलु १९ दशमलव आठ मेगावाट क्षमताको आयोजना हो । प्राधिकरणका अनुसार सङ्खुवासभाको माया खोला १४ दशमलब नौ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दैछ । यस्तै रुकुमको रुकुमगाड पाँच मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झण्डै एक मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दैछ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना दुई मेगावाट पनि प्रणालीमा जोडिसकेको छ ।

त्यस्तै, मोरङको छ दशमलब आठ मेगावाट र बाँकेमा आयोजनास्थल रहेको १० मेगावाट क्षमताको सौैर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ । प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसैवर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो ।

दार्चुलामा आयोजनास्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्वद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसक्नु भएको छ । ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ ।

वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ । यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो ।

बङ्गलादेशमा पनि प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, सरकारले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् ।

कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ । यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ ।

निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता मात्रै चार हजार आठ सय ३४ मेगावाट बराबर छ । त्यस्तै, झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ ।

  • ३ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !