बागलुङमा भर्नासँगै विद्यार्थीको हातमा पाठ्यपुस्तक

आजभोलि

काठमाडौँ । बागलुङमा शैक्षिक सत्र २०८० सुरु हुनुभन्दा अगावै सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । चैत अन्तिम साताबाट बागलुङमा पाठ्यपुस्तक आउन थालेपछि सहज भएको थियो ।

जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेपछि विद्यार्थीलाई वितरण गर्न थालिएको छ । जिल्लाका पाँच सय १४ सामुदायिक विद्यालयमै नयाँ पाठ्यक्रम अनुसारको पुस्तक पु¥याइएको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।

विगतका वर्षमा भर्ना अभियान सकिँदासम्म विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेकामा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा आवश्यक पर्ने पाठ्यपुस्तक आइपुगेपछि वितरण थालिएको हो । पाठ्यपुस्तक पर्याप्त नहुँदा विगतका वर्षमा समस्या भएपछि यस वर्ष समयमै जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक जिल्ला–जिल्लामा पठाएको हो । वैशाख १५ गतेसम्म जिल्लाका सामुदायिक विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको छ । भर्ना हुन आएका विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक दिन थालिएको बागलुङ जिल्ला सदरमुकामस्थित रुद्रेपीपल माविका प्रधानाध्यापक राजेश श्रेष्ठले जानकारी दिए ।

समयमै पुस्तक आउँदा भर्ना अभियानसमेत प्रभावकारी बन्दै आएको छ । “वैशाख १५ गतेसम्म भर्ना अभियान हो, भर्ना हुन आएका विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक वितरण गरिरहेका छौँ”, श्रेष्ठले भने, “हाम्रो सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप छ, निजी विद्यालय छोडेर यहाँ भर्ना हुन आउने क्रम जारी छ, समयमै पाठ्पुस्तक आएपछि निकै सहज भयो यसपटक ।” जिल्ला सदरमुकाम मात्र नभएर जिल्लाको दुर्गम मानिने बडिगाड, निसीखोला तमानखोला, ताराखोला बरेङ गाउँपालिका र ढोरपाटन नगरपालिकाका विद्यालयमै पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिए ।

“जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन्, केही विद्यालयले वितरण थलिसके भने केही विद्यालयमा बाँकी छ, हामीले भर्नासँगै पाठ्यपुस्तक वितरण गर्न भनेका छौँ”, उपाध्यायले भने, “जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थी लक्षित गरेर भर्नाअगावै आवश्यक पुस्तकहरु सबै विद्यालयमा पुग्दा सहज भएको छ ।” बागलुङ जिल्लाका पुस्तक बिक्रेताहरुको समन्वयमा पालिकाको केन्द्रसम्मै पुस्तक पु¥याएपछि विद्यालयले पाठ्यपुस्तक वितरण गर्न थालेका हुन् ।

जिल्लाको विद्यामन्दिर माविमा आवश्यक पाठ्यपुस्तक आएर वितरण गर्ने तयारीमा रहेको विद्यालयले जनाएको छ । यसपटक पुस्तक समयमै उपलब्ध हुँदा भर्ना अभियानसमेत प्रभावकारी हुने एकाइ प्रमुख उपाध्यायले बताए। जिल्ला भित्रिएको पाठ्यपुस्तकहरु दुर्गमका सामुदायिक विद्यालयमा समेत पुगिसकेका छन् । १० पालिका रहेको बागलुङमा पाँच सय १४ सामुदायिक विद्यालयमा ६३ हजार विद्यार्थी रहेका छन् ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !