चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

आजभोलि

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ ।

त्यो क्षेत्रमा भोलि ‘डेडिकेडेट’ बस लेन वा अरु कुनै प्रयोजनका लागि प्रयोग गर्न सकिने विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । अहिले सडक सुरक्षाको पनि काम गर्छ भनेर कम्तीमा तीन मिटर राख्न लागिएको हो । त्योभन्दा दायाँबायाँ चार-चार लेनको सडक हुने र छेउछेउमा पैदल यात्रुका लागि हिँड्ने मार्ग बनाउन लागिएको उनले बताए । पैदल यात्रु मार्गभन्दा मुनि ‘युटिलिटि करिडोर’ राख्ने गरी छलफल भइरहेको छ ।

उनले भने, ‘पैदल यात्रु मार्ग छेउमा ग्रीन बेल्ट बनाउने र त्योभन्दा पनि छेउमा सर्भिस लेन बनाउने गरी छलफल भइरहेको छ ।’ सडकको बीचको भाग ३८ मिटरमा चार लेनसहितको सडक र पैदलयात्रु मार्ग निर्माण हुनेछ ।

भविष्यमा कुनै पनि सुधार, विस्तार, चुस्त सडक व्यवस्थापनका लागि चाहिने संरचना बनाउनका लागि अहिले बनेको संरचनालाई बाधा नपर्ने गरी डिजाइन गर्नुपर्छ भनिएको महानिर्देशक ढकालले बताए । चक्रपथको पहिलो खण्ड (कोटेश्वरबाट कलङ्कीसम्मको सडक) मा निर्माण सम्पन्न भएको केही वर्षमा नै कहिले आकाशे पुल त कहिले ‘फ्लाई ओभर’ निर्माणका लागि संरचना बिगार्नु परेको छ ।

कलङ्कीदेखि बसुन्धारासम्मको सडक चीन सरकारले निर्माण गर्ने गरी फाइनल डिजाइनको क्रममा छ । आवश्यक स्थानमा संरचना निर्माण अहिले भर्खरै चिनियाँ पक्षले नगरेपनि भविष्यमा बनाउन सकिने गरी डिजाइन गर्ने सहमति भएको छ । उनले भने, ‘उसको डिजाइनमा हुन्छ र खर्च सरकारले गर्ने गरी छलफल भइरहेको छ ।’

यो खण्डमा ‘फलाई ओभर’ लगायतका संरचना नबन्न सक्ने उनले बताए । उनले भने, ‘चाहिने नै ठाउँमा पछि पनि बनाउन सकिन्छ ।’ ‘सर्भिस लेन’को सवारीसाधन मुख्य लेनमा नआउने गरी डिजाइन गर्न लागिएको विभागले जनाएको छ ।

चक्रपथको पहिलो खण्डमा चीन सरकारले जम्मा तीन आकाशे पुल निर्माण गरेको थियो भने सरकारले पछि छ आकाशे पुल निर्माण गरेको थियो । दोस्रो खण्डमा यात्रुलाई सडक पार गर्न कुन संरचना ठीक हुन्छ भनी छलफल भइरहेको छ ।

चक्रपथको पहिलो खण्डभन्दा डिजाइनका हिसाबले दोस्रो केही फरक बन्न सक्ने देखिएको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो । पहिलो खण्डमा बीचमा दुईवटा आउने र दुई वटा जाने गरी चार लेन थियो । बीचमा दुबैतर्फको सडक र दायाँबायाँ लाग्न सर्भिस लेन थियो । अहिले एकातर्फबाट आउने र अर्को तर्फबाट जाने मात्रै गर्न छलफल भइरहेको छ ।

उनले भने, ‘पहिले बीचको लेनका कारणले गर्दा दुर्घटना बढाएको भनेकाले अहिले बीचको हटाएर एकातिरबाट जाने चार लेन र अर्कातर्फबाट फर्कन चार लेन बनाउन छलफल भइरहेको छ ।’ निर्माणस्थल खाली हुँदै गर्दा चिनियाँ पक्षले निर्माणका लागि छलफल अघि बढाएको हो ।

अहिलेसम्म चिनियाँ पक्षले निर्माण गर्ने लेनमा झण्डै ८० प्रतिशत खाली गरिएको छ । पहिले चावहिल नजिकै धोबीखोलासम्म विस्तार गर्ने योजना बनाइएको भए पनि निर्माणस्थल खाली गर्न नसकिएकाले कलङ्कीबाट बसुन्धारासम्म मात्रै विस्तारको योजना अघि बढाइएको हो ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !