डढेलोले पारेको समस्या

आजभोलि

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार ६ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिए ।

चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उनले बताए । ‘कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ,’ सूचना अधिकारी गौतमले भने ।

‘नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि केही ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ,’ उनले भने ।

फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उनको भनाइ थियो ।

डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता साताव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । यहाँ रहेका सामुदायिक वनले नियमित हेरालुबाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने र अग्नि नियन्त्रक समूह निर्माण गर्ने गरे पनि पूर्णरूपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताए ।

वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा भने हाल यस्तो घटना भएको पाइएको छैन ।

गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने, वन्यजन्तु आगोमा जलेर मर्ने, धुवाँका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने हुन्छ ।

वन क्षेत्रमा लागेको डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँको बादल देखिन्छ । वायुमण्डल धुवाँले ढाक्दा कतिपय मानिसको आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या हुने मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उनको भनाइ थियो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर जमिनमा वन रहेको छ ।

  • ५ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !