गोकर्णेश्वरमा कान्तिभैरव जात्राका लागि तयारी पूरा

आजभोलि

काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण चतुर्दशीदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर क्षेत्रमा मनाइने कान्तिभैरव जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

वैशाख कृष्ण चतुर्दशीका दिन बिहान स्थानीयवासीले आ–आफ्ना घरआँगनमा सरसफाइ गरेपछि मध्यरातमा कान्तिभैरवको जात्रा सुरु गरिने परम्परा छ ।

चतुर्दशीका दिन स्थानीयवासीले आफ्नो टोल र छरछिमेकमा सफाइ गरेपछि मध्यरातदेखि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिनसम्म कान्तिभैरवको मुख्य जात्रा सुरु हुन्छ । कान्तिभैरवकै नामबाट कान्तिपुर नामकरण भएको विश्वास गरिन्छ ।

जात्राका लागि गोकर्णेश्वर क्षेत्रलाई बेहुलीझैँ सिँगारिएको छ । जात्राको सबै तयारी पूरा भएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । जात्राका लागि विगतदेखि नै नगरपालिकाले पनि सहयोग गर्र्दै आएको उनले सुनाए ।

जात्राका लागि वडा कार्यालयले वैशाख ६ देखि १० गतेसम्म कहाँ कहाँ रथ लैजाने र के के जात्रा कुन समयमा गर्ने भनी तालिका नै सार्वजनिक गरेको छ । यसबाट भक्तजनलाई सहज हुने विश्वास गरिएको छ ।

जात्राका क्रममा वैशाखकृष्ण आमावास्याका दिन स्थानीय डबलीमा आमाछोरी र सासूबुहारीले संयुुक्तरुपमा सहभागी भएर सिन्दूर जात्रा हेर्नुपर्दछ भन्ने जनविश्वास छ । यसलाई कान्तिभैरवको सिन्दूर जात्रा पनि भन्ने गरिएको स्थानीयवासी एवं साबिकको गोकर्णेश्वर गाविसका पूर्वउपाध्यक्ष राधाकृष्ण श्रेष्ठले बताए ।

‘यस दिन प्रत्येक व्यक्तिका लागि आमाप्रति श्रद्धा र भक्तिसाथ सम्मान प्रकट गरी मीठो मसिनो खुवाउने दिन भएकाले कान्तिभैरव जात्रालाई पनि आमाप्रतिको सम्मानकै रुपमा लिन्छौँ’, कान्तिभैरवको गुठियारसमेत रहेका उनले भने ।

राजा मानदेवले सुरुवात गरी हालसम्म निरन्तर चलेको ऐतिहासिक, साँस्कृतिक र धार्मिक कान्तिभैरव जात्रा आज मध्यरातदेखि गोकर्णेश्वर क्षेत्रमा सुरु हुन्छ । जात्राका अवसरमा श्रीभैरव, श्रीकुमारी र श्रीगणेशको मूर्तिलाई सिँगारिएको तीनतले खटमा विराजमान गराइन्छ ।

तीनवटा रथलाई धार्मिक विधिपूर्वक बाजा, गीत र नाचका साथ टोल परिक्रमा गराइन्छ । परिक्रमा गराउने क्रममा प्रत्येक चोक, दोबाटो र घरआँगनमा स्थानीयवासीले उत्साहसाथ श्रद्धाभाव अर्पण गर्दछन् ।

  • ६ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !