अन्नपूर्ण (कास्की) । पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ ।
नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पु¥याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको छ । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।
पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सबइञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए ।“गर्मी सुरु भयो, खोलाको पानी ८० प्रतिशत घटेको छ”, उनले भने, “हाम्रो पानीको स्रोत भनेको ८० प्रतिशत मर्दी नै हो । त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा पानी घटेका कारण हामीलाई समस्या भएको हो ।”
खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय नै पुगेका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ पनि हैरानीमा छन् । “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, उनले भने, “पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।”
खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताए । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उनले सुनाए । “खानेपानीको समस्या प¥यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उनले भने।
मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सबइञ्जीनियर पाण्डेले बताए । “हामी सात–आठ दिनअघि सूचना जारी गरेरै पोखरा आउने १६ र २० इन्चको पाइप पूर्णरूपमा बन्द गरेका थियौँ”, उनले भने, “किनभने जापान सहयोग नियोग (जाइका)ले बनाएको ग्रिड च्याम्बर र ट्याङ्कीमा पानी जम्मा गर्न हाम्रो पाइपको कनेक्सन टुटाएर त्यता जोडिएको थियो ।” सोही कामका लागि सोमबार पुनः पानी पाइप बन्द गरिने उनले बताए ।