दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

आजभोलि

काठमाडौँ । आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् ।

नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप्पै भएको भने होइन ।

हुनुपर्ने जति काम नभए पनि केही न केही कामचाहीँ अवश्य भइरहेको छ । यस क्रममा लमजुङको दुराडाँडा क्षेत्र मूल थातथलो मानिएको दुरा समुदायबारे खोजमूलक कृति आएको छ ।

कृतिको नाम हो– ‘दुरा इतिहास र संस्कृति’ । दुरा समुदायको ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर ‘दुरा इतिहास र संस्कृति’ नामक खोजमूलक पुस्तक प्रकाशन भएको छ ।

अल्पसङ्ख्यक अवस्थामा रहेको दुरा समुदायले मूलतः भाषिक तथा जनसाङ्ख्यिक समस्या भोग्दै आएको छ । यसबाट दुरा समुदायको पहिचान पनि सङ्कटमा पर्दै गएको अनुभूत गरिँदैछ ।

दुराहरूको भाषा पनि मृतप्रायः अवस्थामा छ । विसं २०५८ को राष्ट्रिय जनगणनाअनुसार दुरा जातिको कूल जनसङ्ख्यामा पाँच हजार एक सय ६९ रहेको छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार दुराहरूको पाँच हजार तीन सय ९४ रहेको छ । दुरा सेवा समाजले २०५४ सालमा गरेको एक अध्ययनमा पाँच हजार छ सय ७६ रहेको छ ।

त्यसमा जिल्लागत जनसाङ्ख्यिक वितरण हेर्दा लमजुङ ७२ प्रतिशत, तनहुँ १६ प्रतिशत, चितवन छ प्रतिशत, कास्की तीन प्रतिशत र अन्य जिल्ला तीन प्रतिशत रहेको छ ।

यस पुस्तकमा दुरा समुदायको समीक्षात्मक इतिहास, थातथलो, जनसङ्ख्या, भाषिक पक्ष तथा जन्मदेखि मृत्युसम्मका संस्कार समेटिएका छन् । यसैगरी, दुरा समुदायमा प्रचलित विश्वास प्रणाली, खाद्य संस्कृति, चाडवाड, परम्परागत उपचार पद्धति, दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननाम, लोकजीवनका विभिन्न रोचक आयाम एवं अमूर्त सांस्कृतिक सम्पदा आदिबारे विस्तृत चर्चा गरिएको छ ।

पुस्तकमा सङ्क्षिप्त इतिहास र परिचय, दुरा समुदायको पहिचानसँग जोडिएका स्थान नाम, अमूर्त सांस्कृतिक सम्पदा, विश्वास प्रणाली, लोकजीवन, चाडपर्व तथा उत्सव, खाद्य संस्कृति, परम्परागत ओखतीमूलो, पूजाआजा, जन्म संस्कार, विवाह पद्धति र मृत्यु संस्कारलाई विस्तृतरूपमा समेटिएको छ ।

कूल १२ अध्यायमा विभक्त पुस्तकको परिचय खण्डमा इतिहास, थातथलो, जनसङ्ख्या भाषिक पक्ष एवं वेशभूषालाई समेटिएको छ । पुस्तकमा समाज समयक्रमसँगै व्यक्तिवादी बन्दै गएको घडीमा पनि दुरा समुदायमा बाँचिरहेका सामूहिक जीवनशैलीका झलकलाई प्रस्तुत गरिएको छ । दुरा समुदायको जीवनशैलीलाई चित्रण गर्ने क्रममा माइती राख्ने, सियो राख्ने, लोबारे खाने, रोदी बस्ने, माया विचार्ने, चियाँ हेर्नेजस्ता अनौठो सांस्कृतिक रीतभाँतबारे रोचक शैलीमा वर्णन गरिएको छ । यस्ता रोचक सांस्कृतिक रीतभाँतलाई जनाउने शब्दको अर्थ बुझाउन अनुसूची खण्डमा पारिभाषिक शब्दावलीसमेत दिइएको छ ।

पुस्तकमा दुरा समुदायको पहिचानसँग जोडिएका स्थाननामबारे चर्चा गरिएको छ । यस क्रममा क्रममा कुनै समयमा दुरा समुदायको बसोबास भएको र अहिले बसोबास नभएका तर दुरा समुदायको पहिचान भने कायमै भएका ठाउँका बारेमा दुर्लभ प्रकृतिका जानकारी दिइएको छ । दुरा थोक, दुरा गाउँ, दुरा टहरा, दुराबारी, दुराको बोट आदि ठाउँका बारेमा हालसम्म बाहिर नआएका जानकारी पस्किने काम भएको छ ।

पुस्तकमा दुरा समुदायमा प्रचलित परम्परागत ओखतीमूलो तथा उपचार पद्धतिबारे पनि प्रकाश पारिएको छ । आजको भोगवादी युगमा महँगो आधुनिक औषधोपचारले बजार पिटिरहेको घडीमा त्यस्ता परम्परागत उपचार पद्धति मूल्यहीनझैँ लाग्नसक्छ तर, औषधोपचार निरन्तर महँगो बन्दै गएको  छ । नागरिकले उपचारका नाममा अनावश्यक रूपमा महँगो मूल्य चुकाउनु परिरहेको छ । पुस्तकमा वर्णित परम्परागत ओखतीमूलोबारे अध्ययन गरिरहँदा परम्परागत ज्ञानमा आधारित यस्ता उपचार पद्धतिलाई ब्युँताउन पाएमा नागरिकलाई केही राहत मिल्थ्यो कि भन्ने चेतना पनि पलाउँछ ।

प्राध्यापन तथा शोधकार्यमा संलग्न यमबहादुर दुराले शोधकार्यपछि पुस्तक लेखेको हुन् । यसभन्दा अघि पनि विभिन्न अध्येताले दुरा समुदायबारे लघु शोधपत्र नलेखेका होइनन् । जनकवि केशरी धर्मराज थापा, राजेश गौतम तथा अशोक थापा मगर, नगेन्द्र शर्मा आदिले आ–आफ्ना पुस्तकको एक हिस्साका रूपमा दुरा समुदायबारे केही प्रकाश पारेका छन् । यसैगरी, डा गणेशमान गुरुङ, डा ऋषिकान्त अधिकारी, मुक्तिनाथ घिमिरे आदिले दुरा समुदायबारे सग्लो पुस्तक नै लेखेका छन् । यद्यपि, विषयवस्तुको पैmलावट, अन्तरवस्तुको व्यवस्थापन र प्रस्तुतीकरणका दृष्टिले यस कृतिलाई हालसम्मकै सघन र व्यापक मानिएको छ ।

नवप्रकाशित पुस्तकका कृतिकारले दुरा समुदायको इतिहास र संस्कृतिलाई द्रष्टा र भोक्ता दुवैरूपमा चित्रण गरेका छन् । पुस्तकले दुरा समुदायबारे आएका भ्रामक भाष्यलाई चिर्ने काम पनि गरेको छ । उदाहरणका लागि, भारतमा मुसलमान आक्रमण भएपछि राजस्थानस्थित चित्तौडगढबाट भागेर आएका राजपूत रमणी र उनका नोकरबीचको संसर्गबाट दुरा जातिको उत्पत्ति भएको भन्ने अपमानजनक भनाइ कसै कसैले अघि सारेका छन्। बिना ऐतिहासिक आधार तथा प्रमाण अघि सारिएका यस्ता भाष्यलाई विभिन्न ऐतिहासिक साक्ष्य तथा प्रमाणका आधारमा खण्डन गरिको छ ।

यसैगरी, दुरा समुदायको सांस्कृतिक पक्षबारे कतिपय लेखकले अज्ञानवश तथा भूलवश लेखेका भ्रामक जानकारीलाई सप्रमाण भ्रम निवारण गर्ने प्रयास गरिएको छ ।

पुस्तकलाई प्राज्ञिक बनाउने प्रयास पनि भएको छ । सूचनाको स्रोतलाई शोधविधि अनुसार उद्धरण गर्ने प्रयास गरिएको छ । पुस्तकमा सन्दर्भ सामग्री, अनुक्रमणिका, ‘क्रस रिफरेन्स’ तथा अनुसूचीलाई पनि दिइएको छ ।

आवश्यकताअनुसार मौखिक स्रोत पनि प्रयोग गरिएको छ, जुन एकप्रकारले नयाँ अभ्यास देखिन्छ । यसका अतिरिक्त लेखक दुरा समुदायकै व्यक्ति भएकाले आफ्नो समुदायमा हुर्कंदा बढ्दा देखेभोगेका सांस्कृतिक जीवनका आयामलाई अनुभवप्रधान र अवलोकनमूलक दृष्टिबाट प्रस्तुत गर्ने काम गरिएको छ ।

पुस्तकमा सुधान गर्नुपर्ने पक्ष पनि देखिन्छ । दुरा समुदायको सांस्कृतिक पक्षको वर्णन गर्दा पुस्तक मूलतः वर्णनात्मक देखिएको छ । यद्यपि, यसमा विश्लेषण तथा समीक्षा नभएको होइन ।

खासगरी, सांस्कृतिक पक्षको वर्णन गर्दा त्यसको विश्लेषणात्मक पक्षलाई पनि अझ मजबुत बनाउन सकेको भए पुस्तक अझ बढी पठनीय हुने थियो ।

पुस्तकमा ठाउँ–ठाउँमा तस्बिर पनि प्रयोग गरिएका छन् । तर, पुस्तक पढ्दै जाँदा पाठ (टेक्ट) मा वर्णित सन्दर्भ बुझाउने खालका सान्दर्भिक तस्बिर तथा ग्राफिक्सको कमी भएको प्रतीत हुन्छ ।

समग्रमा भन्दा, यस पुस्तकलाई दुरा समुदायको ‘इथ्नोग्राफिक अध्ययन’ को गतिलो खुराकको रूपमा लिन सकिन्छ । भविष्यमा दुरा समुदायबारे थप अध्ययन गर्न चाहनेका लागि यस पुस्तक एउटा गतिलो आधार बन्न सक्छ । साथै, नेपालका अल्पसङ्ख्यक दुरा समुदायको इतिहास र संस्कृतिको अभिलेखीकरण तथा सम्वद्र्धनमा पुस्तकले रचनात्मक भूमिका खेल्ने अपेक्षा गर्न सकिन्छ ।

पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक

काठमाडौँ  । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको १५ दिने पुस्तक प्रदर्शनीमा १६ नयाँ पुस्तक पनि राखिएको छ ।

प्रतिष्ठानले नयाँ वर्षका अवसरमा वैशाख ४ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा सम्पादक वासुदेव अधिकारीको ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’, नवराज रिजालको ‘मधेस प्रदेशका नेपाली कथामा सामाजिक यथार्थ’, विष्णु प्रभातको ‘नेपाली संस्कृतिको विवेचना’, नन्दु उपे्रतीको ‘नेपाली लघु उपन्यास परम्परा र प्रवृत्ति’, डा देवी क्षेत्री दुलालको ‘नेपालका प्रमुख राजनीतिक विचारक र विचार धारा’ पुस्तक प्रदर्शनीमा राखिएको छ । यसैगरी, सम्पादक वीरबहादुर महतोको ‘मगही भाषाके प्रतिनिधि कविता’, प्रा डा कृष्णप्रसाद पौड्यालको ‘चितोनियाँ थारू भाषाको व्याकरण’, लेखक रमेश सुवेदी र सम्पादक प्रा केशव सुवेदी रहेको ‘रापती क्षेत्रका स्रष्टाहरुको शब्द चित्र’, डा विष्णु न्यौपानेको ‘नेपाली कथामा उखानको प्रयोग’, प्रधान सम्पादक डा ध्रुवप्रसाद भट्टराई रहेको ‘नेपाली लोकवार्ता कोश’, नर्मदेश्वरी सत्यालको ‘नेपाली लोक परम्परामा महिला’, डा टङ्क उप्रेतीको ‘सन्थाली लोकगीत’ पुस्तक पनि प्रदर्शनीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिए ।

यस्तै, डा पुष्करराज भट्टको ‘नेपाली लघु कथाका प्रवृत्तिहरु’, डा नवराज कट्टेलको ‘पण्डित दधिराम पौडेलका व्याकरणात्मक कृतिहरुको अध्ययन’, डा माधवप्रसाद लामिछानेको ‘पशुपति क्षेत्रका शक्तिपीठ र तत्सम्बद्ध जात्राहरु’ र अनुवादक कृष्णप्रसाद शर्मा घिमिरेले अनुवाद गरेका ‘श्रीमद्वाल्मीकिरामायण’ को पुनर्मुद्रण गरिएको पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । यही वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा पुस्तकहरुमा १५ देखि ४० प्रतिशतसम्म सहुलियत दिइएको छ । प्रज्ञा–प्रतिष्ठानसँगै साझा प्रकाशनका पुस्तकहरु पनि प्रदर्शनीमा राखिएको छ । साझा प्रकाशनका पुस्तकमा भने २५ प्रतिशतसम्म छुट दिइएको छ । पुस्तक प्रदर्शनीमा आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको उनले बताए । प्रतिष्ठानले वर्षमा तीन पटक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पुस्तक प्रदर्शनीबाट वार्षिक रु ५० लाखको पुस्तक बिक्री हुने गरेको जनाइएको छ ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !