तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान

आजभोलि

दमौली । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि वैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि मतगणनास्थल निर्माण सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको भवनमा मतगणनास्थल निर्माण गरेको हो ।

मतगणनालाई निष्पक्ष र विश्वसनीय बनाउन मतगणनास्थलमा सिसिटिभी जडान गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

उनका अनुसार दुईवटा कोठामा मतगणना गरिनेछ । मतगणनास्थल निर्माणका लागि आवश्यक तारजालीको व्यवस्था गरिसकिएको छ । “तारजालीसहित मतगणनास्थल तयार गर्दैछाँै, दुवै कोठामा सिसिटिभी जडान भइसक्यो । आज बेलुकासम्म तारजाली बारेर गणनास्थल तयार हुन्छ”, उनले भने ।

निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम सुरक्षित रुपमा मतगणनास्थलका लागि गणनास्थल तयार पारिने उनले बताए । “सबैलाई चित्तबुझ्दो गर्ने गरी भरपर्दो, सुरक्षित बनाउन आयोगले दिएको निर्देशनबमोजिम मतगणनास्थल बनाउँछौ,” उनले भने ।

आइतबार मतदान सकिएपछि सुरक्षितरुपमा सबै मतदान केन्द्रबाट मतपेटिका दमौली ल्याइनेछ । मतपेटिका ल्याइसकेपछि राजनीतिक दलसँगको सर्वदलीय बैठकपश्चात् मतगणनाको काम सुरु गरिनेछ ।

तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । ढकालका अनुसार प्रतिमतदान केन्द्रमा ६१ प्रकारका सामग्री पठाइएको छ । मतदान केन्द्रमा पुगेपछि सम्बन्धित ठाउँका राजनीतिक दलसँग बैठक, मतदाता परिचयपत्र वितरण, मतदान केन्द्र निर्माणलगायतका काम हुनेछन् । उपनिर्वाचनका लागि सात सय ६० कर्मचारी परिचालन गरिएको छ ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनका लागि विसं २०८० वैशाख ९ गतेसम्म १८ वर्ष पूरा हुने एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो निर्वाचन क्षेत्रमा व्यास नगरपालिका–५ र ६ बाहेक १२ वडा, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र भानु नगरपालिका पर्दछ ।

उपनिर्वाचनमा सबैभन्दा बढी मतदाता भानु नगरपालिकामा छन् । भानु नगरपालिकाका १३ वडामा ४० हजार आठ सय ४४ मतदाता छन् । भानुमा २१ मतदानस्थल र ५० मतदान केन्द्र छन् । त्यस्तै, कम मतदाता देवघाट गाउँपालिकाका पाँच वडामा १२ हजार सात सय १२ मतदाता छन् । देवघाटमा आठ मतदानस्थल र १५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, आँबुखैरेनी गाउँपालिकाका छ वडामा १३ हजार छ सय २२ मतदाता कायम भएका छन् । आँबुखैरेनीमा नौ मतदानस्थल र १७ मतदान केन्द्र छन् । बन्दीपुर गाउँपालिकाका छ वडामा १५ हजार छ सय ७८ मतदाता कायम भएका छन् । बन्दीपुरमा ११ मतदानस्थल र २२ मतदान केन्द्र छन् । व्यास नगरपालिका–५ र ६ बाहेकका १२ वडामा ४० हजार चार सय ४९ मतदाता कायम भएका छन् । व्यासमा २० मतदानस्थल र ४८ मतदान केन्द्र छन् ।

  • ८ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !