कञ्चनपुर पनि औलोको जोखिममा

आजभोलि

काठमाडौँ । भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उनले भने, “पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । आव २०७८/७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् ।

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उनले बताए ।

“मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।” उनले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको सङ्क्रकमण देखिने गरेको बताए ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए । “औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्”, उनले भने, “महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !