‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन

आजभोलि

सुदूरपश्चिम । आफ्नो तरकारी बारीमा पुग्ने विद्यार्थी र किसान समूहका जिज्ञासा मेटाउन व्यस्त हुने रामकिसुन चौधरीलाई किसान अचेल ‘प्लान्ट डाक्टर’को नामले चिन्न थालेका छन् ।

मौसमी तथा बेमौसमी तरकारी बालीको उत्पादन, बालीमा देखिने रोगकीराको समाधान खोज्नमा अनुभवी मानिनु भएकाले उनी ‘प्लान्ट डाक्टर’ले चिनिएका हुन् ।

तरकारी बारीमा स्थलगत अध्ययन गर्न दुई दिनअघि मात्रै आएको कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीको टोलीले उहाँबाट तरकारी उत्पादन, रोगकीराको समाधान, जैविक मलको आवश्यकता र महत्वलगायतका विषयमा जानकारी लिएर फर्किएको छ । उहाँ गड््यौला र यसको मल पनि उत्पादन गर्छन् । किसान समूह सहकारीले सञ्चालन गर्ने किसान पाठशालामा प्रशिक्षकको भूमिका पनि निभाउन्छन् ।

किसानको जिज्ञासा मेटाउन पाउँदा आफूलाई जिम्मेवारीको बोधको अनुभव हुने उनले सुनाए । उनले भने “सबैले प्लान्ट डाक्टरभन्दा खुसीसँगै थप जिम्मेवारी बोध भएको महसुस हुन्छ, तरकारी खेतीका लागि चाहिने बेर्ना र तरकारी उत्पादन गरेर बिक्री गर्दा किसान खुसी नै छन् ।”

उनी आफ्नै तरकारीबारी परिसरमा गड््यौला मलको उत्पादन गरी माटोको उर्वराशक्ति बढाउन र अग्र्यानिक (जैविक) खेतीका लागि उत्प्रेरकको भूमिकासमेत निर्वाह गरिरहेका छन् ।

बोलीचालीमा उनलाई सम्मान गर्न प्लान्ट डाक्टर भन्ने गरिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए ।

“कुनै सरकारी निकायबाट प्रमाणपत्र पाएर उहाँलाई प्लान्ट डाक्टर भनिएको होइन,” शर्माले भने, “उहाँ जेटि, जेटिएसम्बन्धी काम गर्ने, तरकारी र बेर्ना उत्पादन गर्ने, किसानस्तरको प्रशिक्षण दिनमा अनुभवी हुनुहुन्छ ।”

वार्षिक प्रतिकठ्ठा रु तीन हजारका दरले जग्गा भाडामा लिएर उनले धनगढी उपमहानगरपालिका–५ मा चार बिघा जग्गामा बेर्ना र तरकारी खेती गरिरहेका छन् ।

यो वर्ष उनको तरकारी बारीमा पटक–पटक स्थलगत रुपमा अध्ययन अवलोकन गर्न सुदूरपश्चिमका जिल्लाका तीन ÷चार समूहमा गरी ७० विद्यार्थी आइपुगेका छन् । “उहाँलाई कृषिमा गरेको मेहनत र लगनशीलताले अहिले समाजले ‘प्लान्ट डक्टर’बनाइदिएको हो”, स्थानीय माया भट्टले भनिन्, “तरकारी उत्पादनले टोलमा ताजा तरकारी पाउन पनि सहज भएको छ ।”

विगतमा जीविका चलाउनकै लागि एक गैरसरकारी संस्थामा कार्यालय सहयोगीमा काम गरेका उनलाई कृषि निर्देशनालय दीपायलबाट मौसमी र बेमौसमी तरकारी खेतीतर्फ भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट छनोट भई पुरस्कृत भएका छन् ।

“भीमदत्त उत्कृष्ट किसान पुरस्कार पाउँदा पनि खुसी छु यसले हौसला पनि मिलेको छ”, रामकिसुनले भने, “आर्थिक अवस्था कमजोर हुँदा पाएको दुःख कष्टले आफूलाई प्रगति गर्न सिकाएको अनुभव भइरहेको छ ।”

भीमदत्त उत्कृष्ट पुरस्कारका लागि छनोट हुनुभएका घोडाघोडी नगरपालिकाका पहलमान देउवा भने बैंकबाट लिएको ऋणको ब्याज बुझाउन ताकेता गरेको सूचना पाएपछि तनावमा थिए ।

“आफू पुरस्कृत भइरहँदा ऋण समयमै नतिरेको भन्दै बैंकले आजै ३५ दिने सूचना निकालेको छ”, धनगढीमा हालै आयोजित समारोहमा पुरस्कार ग्रहण गर्दै देउवाले भने, “किसानले जतिसुकै मेहनत गरेपनि कृषि विकासका लागि बनेको नीति किसानमैत्री बन्न सकेका छैनन् ।”

देउवालाई कुखुरापालन तथा बहुउदेश्यीय कृषि विधातर्फ भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको हो । लम्कीचुहा नगरपालिकाका खडक महतलाई माछापालन विधातर्फ यो पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ ।

किसानको हौलसा बढाउन र कृषि पेसाको सम्मान गर्ने उद्देश्यले प्रदेश सरकारले प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई गत वर्षदेखि भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गर्ने नीति लिएको हो । यो नीति अनुसार सुदूरपश्चिमका कैलाली सहितका सबै जिल्लाबाट गरी २७ किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने २७ किसानमध्येबाट चार जना उत्कृष्ट किसानको छनोट गर्न लागिएको छ । छनोट हुने चार किसानमध्येबाट सर्वोत्कृष्ट किसान छनोट हुने एक किसानलाई रु एक लाख ५० हजार र बाँकी तीनलाई रु ७५ हजारको भीमदत्त उत्कृष्ट किसान छनोट गरी पुरस्कार प्रदान गर्न लागिएको छ ।

  • २५ बैशाख २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !