रामपुर । आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना होकी विपना जस्तै अनुभूति हुने गरेको छ ।
आगोले पोलेको पीडा त छँदैछ तर त्योभन्दा बढी घर डढेको पीडाले उनी तड्पिरहेका छन् । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उनको तीनतले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उहाँलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ ।
“कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु”, उनले भने, “घर डढेको चोटले मन भतभती पोलिएको छ ।”
मङ्गलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ (दाउरा राख्ने) मा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते भए । गोठ हुँदै घरमा आगो सल्केपछि उनकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उनी आफैँ आगोले घाइते भएकी छिन्।
लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ । घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा निःशुल्क उपचार गरिएको छ । आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोखे । “घरदेखि पारि जङ्गलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखेँ, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दा–देख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन”, उनले दुखेसो पोखे ।
परिवारका सदस्य जङ्गलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन । घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठीघरे, भिमीसरा साठीघरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ । मङ्गलवार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।
मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे र भिमिसरा साठीघरेको तीनतले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर (खरले छाएको दुईतले) पूर्ण रुपमा जलेर नष्ट भएको छ । स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन् । घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गएराति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो । जङ्गलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।
दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुरामले बताए । उनको हाल चारजनाको परिवार बसोबास गरिरहेको तीनतले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ । उनले भने, “छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो ? हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुप¥यो ।”
क्षतिको विस्तृत विवरण सङ्कलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए । “नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जङ्गलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ”, नगर प्रमुख थापाले भने ।
जङ्गलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन । सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ । खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी प्रयाप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन् । अग्नी पिडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ ।