अर्थ जङ्ग शाही
बझाङ । बझाङमा नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल टेलिकमको डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन अन्तर्गत खोड्पेदेखि झलाल्लाबीचको फाइबर ब्रेक हुँदा सेवा आंशिक रुपमा प्रभावित भएको हो । पानी परेर विद्युत पोल ढल्दा फाइबर ब्रेक भएको नेपाल टेलिकम बझाङ शाखाले जनाएको छ ।
फाइबर ब्रेक हुँदा बझाङमा फोन गर्दा आवाज नसुनिने, काटिने र इन्टरनेट सेवा नचल्ने समस्या देखिएको छ । डडेल्धुराबाट बझाङ जोडिएको फाइबर लाइन सानो विद्युत पोल र लामो दुरी भएका कारण समस्या दोहोरिरहेको नेपाल टेलिकम बझाङ शाखा प्रमुख बमबहादुर सिंहले बताए ।
उनका अनुसार ब्रेक भएको फाइबर जोड्ने प्रयास भइरहेको छ । फाइबर ब्रेक हुँदा बझाङमा पुरानै रेडियो सिस्टम (वायरलेस) आंशिक रुपमा सेवा प्रदान भइरहेको छ ।