नेता शेखर कोइरालाले गरे कांग्रेस बैठकमा पार्टी र सरकारका गतिविधिहरुमाथि प्रश्न, के-के छन् उनका १५ बुँदे धारणा(पूर्णपाठसहित)

आजभोलि

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस बैठकमा पार्टी र सरकारका गतिविधिहरुमाथि प्रश्न खडा गरेका छन् ।

उनले पार्टी र सरकारका गतिविधिहरुमाथि सवाल गर्दै आफ्ना १५ बुँदे धारणा राखेका छन् । उनले सत्ता गठबन्धनभित्रै समाजवादी मोर्चाको आवश्यकता र औचित्यतामाथि सवाल मात्रै खडा गरेका छैनन् कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम राज्यबाट भइरहेको भन्दै आरोप लगाएका छन् ।

उनले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज आफ्नो धारणा राख्दै आगामी चुनाव आफ्नै बलमा लड्ने गरी पार्टी तयार रहनु पर्ने बताएका छन् । भुटानी शरणार्थी प्रकरणमा पार्टीको स्पष्ट धारणा नआएको गर्दै यस्का कारणले पार्टीमाथि विभिन्न विचारहरुबाट आक्रमण भइरहेको उनले बताए । साथै उनले हालै प्रतिनिधिसभाबाट पारित भएको ’मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ तत्काल खारेज गर्नुपर्ने माग राखेका छन् ।

यस्ता छन् नेता कोइरालाले राखेका १५ बुँदे धारणा

आज हामी झण्डै एकवर्षको अन्तराल पछि यहाँ भेला भएका छौँ । कैयन साथीहरुलाई विधान विपरित यसरी एकवर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ ।

१. बैठक लाइभ सम्बन्धी : अहिलेको विश्व लोकरिझ्याँईमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रीय समितिको बैठक लाईभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनि हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुप¥थ्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषयहरु, अन्तरदलीय विषय, निर्वाचन रणनीति आदी कुराको स्पष्ट गाईडलाईन बनाऔँ ।

२. महामन्त्रीको सांगठानिक कार्यतालिका : महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ । कांग्रेस मासबेस्ड पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेस्ड आधारित देखिन्छ । केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउनुपर्ने प्रावधान थपिनुपर्छ । किनकी यसले संघियताप्रति हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूर्ण नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ ।

३. गठबन्धनबारे : कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ । किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ । गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसदभित्र ठूलो दल भएको छ । ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघीय सरकार छ र प्रदेश सरकारमा पनि हामी छौँ । संसद्मा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन की हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुबाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुबाट पनि चुनौतिको घेरामा छ ।

४. सरकारको कामकाज : सरकारको कामकाज समीक्षा र प्रभावकारिताबारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वतःस्फूर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नु पर्ने समय आएको छ ।

स्थानीय सरकार देखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुबाट जनअपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जानेतर्फ साथीहरु सचेत हुनुहुनेछ । महंगी र कालाबजारीले जनता आक्रान्त छन् । जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन । यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भीर हुनैपर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउनेतर्फ साथीहरु सचेत हुनुहोला ।

५. दण्डहीनता : राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहीनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भईरहेको छ । हाल संसदमा रहेको ’मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक–२०८०’ तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसदबाट पारित भए देशमा दण्डहीनताले संस्थागत रुप लिन्छ । जनता दण्डहीनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना राख्छन् ।

६. अन्य राजनीतिक दल सम्बन्धी : समाजवादी मोर्चा किन बनेको हो ? गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो ?

७. भ्रष्टाचार र सुशासन : भ्रष्टाचार र सुशासन दुई विपरित दिशामा हिँड्छन । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने विश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।

८. भुटानी शरणार्थी प्रकरण : भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशिल र पेचिलो बिषय हो । यस विषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छवि धमिलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता छ । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिनसक्ने नैतिक बल दिनेछ भन्ने विश्वास लिएको छु ।

९. निर्वाचन प्रणाली : प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।

१०. विदेशमा बस्ने नेपालीहरुको मताधिकार : विदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ । यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागी कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ ।

११. बदलिँदो भूराजनीति : बदलिँदो भूराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तराष्ट्रिय कूटनीतिमा देखिएको असंगति र अस्थिरतालाई देशको जिम्मेवार र ठूलो पार्टीको नाताले एकपटक गम्भिरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ ।

१२. पार्टीमा एकताबद्ध हुन आह्नवान : विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ । कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरि मूलधारमा ल्याउन सकिन्छ । तसर्थ यस अघि जुनसुकै कारणले कांग्रेसबाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आह्नवान गरौँ ।

१३. जनतासँग जोडौं : सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मूल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामीबीचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ । यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूर्नस्थापित गरेर बीपी कोइराला लगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरि निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।

तसर्थ नेपाली समाजको बदलिंदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समूदायको सहभागिता अनिवार्य नै भएको छ । पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पूर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसँग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन । त्यसकारण पार्टीका विभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिवाट पार्टीले लाभ लिने व्यवस्था गरौँ ।

१४. विधान अनुसार चलौं : हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्धारा निर्देशित हुन्छ । हामी सबै एउटा खेलको नियममा बाँधिएका छौँ र बाँधिनुपर्छ । जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानवाट अगाडि बढाउने परम्परा बसालौँ । हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि विधान अनुरुप अगाडि बढाउने काम गरौं । विधानले सबैले गर्ने काम तोकेको छ । हामी कतिले के–के गर्यौ, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।

१५. महासमिति बैठक : १४औँ महाधिवेशनले नेतृत्व चयन मात्र गर्यो । कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जिवन्त रहन्छ । नेपाली कांग्रेस विचारले भरिएको पार्टी हो तर १४औं महाधिवेशन पछाडी यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा बिचारको खडेरी छ । त्यसकारण विधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ ।

अन्तमा,

पार्टी सुधारको कुरा कसैलाई सुनाउन वा देखाउनलाई होईन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो ।सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौं । दुरदराजका जनताको आवाज सुनौं । केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिकरुपमै आफूलाई परिवर्तन गरौं । विधानले व्यवस्था गरे अनुसार बसौं र छलफल गरौं । कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ । कांग्रेस रुपान्तरण भनेकै यही हो ।

जय नेपाल ।

  • ७ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !