काठमाडौं । एक सय केजीभन्दा बढी सुन तस्करी गरेर ल्याएको ब्रेक शु प्याडबाट निकालिएको सुनको तौल जम्मा ६० केजी ७८९ ग्राम मात्र भएको छ ।
आज सोमबार तस्करी गरेर ल्याएको उक्त सुन ब्रेक शुबाट छुट्टयाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर जोख्दा ६० किलो ७८९ ग्राम भएको स्रोतले जानकारी दिएको छ ।
राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।
सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो ।
सुन प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजश्व अनुसन्धान विभागले थप छानबिनको जम्मा सीआईबीलाई लगाएको थियो । सीआईबीले संगठित अपराध र राजश्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।