काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा गएको छ । मुख्यमन्त्री थापाले भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिँदा अवैधानिक बाटोबाट लिएको भन्दै पूर्वमुख्यमन्त्रीसमेत रहेका नेकपा (एमाले)प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटको सुनुवाइ आज पनि नसकिए पछि मुद्धा हेर्दाहेर्दैमा गएको हो ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षलेसमेत मत दिएको भन्दै थापालाई मुख्यमन्त्रीबाट बर्खास्त गरी आफूलाई मुख्यमन्त्री कायम गर्न माग गर्दै कार्कीले रिट दायर गरेका थिए । यससँगै थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको हो ।
उक्त रिट निवेदनमाथि न्यायाधीशहरु सपना प्रधान मल्ल, डा। कुमार चुडाल र नहकुल सुवेदीसहितको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ ।