काठमाडौं । बाजुरामा घरभित्र एक जना महिला मृत फेला परेकी छन् । बिहीबार बुढीनन्दा नगरपालिका-१० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्।
उनी श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी थिइनन्। बिहीबार पनि नदेखिएपछि उनको घरमा जाँदा मृत फेला परेपछि प्रहरीलाई खबर गरेको छिमेकी केशरकुमार बोहराले बताए। मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। श्रीमानले दोस्रो विवाह गरेपछि उनी डेढ दशकदेखि माइतीमा बस्दै आएकी थिइन्।
स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको दाबी गरेका छन् ।
शाहीको शवलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमर्टम गरिएको छ । आफन्तले शाहीको हत्या भएको भन्दै प्रहरीलाई किटानी जाहेरी समेत दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कवेन्द्र बोहराले शाही घरभित्र झुण्डिएको अवस्थामा फेला परेको बताए।
‘उनको शरीर, अनुहारमा निलडाम छैन, घाँटीमा डोरी बाँधिएको छ। घटना अलि शंकास्पद छ। पोस्टमार्टम रिपोर्ट अनुसार घटनाको अनुसन्धान हुनेछ, अहिले पहिलो चरण अनुसन्धान भइरहेको छ,’ उनले भने।
आफन्त तथा स्थानीयले अनुसन्धान गरी हत्यारा पत्ता लगाउन माग गरेका छन्। छिमेकीहरूको घरभन्दा टाढा भएको हुनाले रातको समयमा घटना भएको हुनसक्ने स्थानीयहरुको अनुमान छ ।