काठमाडौं । बाँकेका गुण्डा नाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्धा हेर्न नमिल्नेमा परेको छ । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएको सजाय मिनाहाविरुद्ध परेको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको इजलासले बिहीबार उक्त मुद्धा हेर्न नमिल्ने बताएको हो ।
संविधानविद् समेत रहेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले दिएको जानकारी अनुसार बिहीबार अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र शंकर कटुवालले तथा महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले मुद्धामाथि बहस गरेका थिए । उक्त बहस सुनेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले उक्त मुद्दा हेर्न नमिल्ने भनेको अधिवक्ता पौडेलले बताए ।
कुनै पनि मुद्दामा न्यायाधीशहरूले पहिल्यै धारणा व्यक्त गरिसकेको भए त्यस्तो मुद्दा फेरि आएमा प्रभावित हुनसक्ने भन्दै ती मुद्दाहरू न्यायाधीशहरूले हेर्न नमिल्नेमा राख्ने गरेको उनको भनाइ रहेको छ ।
मुद्धाको अर्को पेशी कार्तिक १४ गतेका लागि तोकिएको छ ।