अयोध्याको झलक दिनेगरी मटिहानीमै राम सीताको मूर्ति

आजभोलि

महोत्तरी । आफ्ना नगरवासीलाई अयोध्याको झलक दिन मटिहानी नगरपालिकाले काठबाट २५ फिट अग्लो श्रीराम र सीताको मूर्ति बनाएको छ । अयोध्याको नवनिर्मित राम मन्दिरमा बालस्वरूप श्रीरामको प्रतिमा स्थापित गरेर आज हुने प्राण प्रतिष्ठा कार्यक्रमकै अनुसरण गर्दै उक्त नगरपालिकाले २५ फिट अग्लो काठको मूर्ति (प्रतिमा) तयार गरेको हो ।

निर्मित प्रतिमा महोत्तरी जिल्लाको मटिहानी–७ स्थित श्री लक्ष्मीनारायण मठ परिसरमा स्थापित गरिँदै छ । लक्ष्मीनारायण मठ मुलुकका सबै मठको नायक मानिन्छ । श्रीरामको बालरूप प्रतिमा आज अयोध्यामा निर्मित राम मन्दिरमा प्राण प्रतिष्ठा गरिने कार्यक्रमको झलक दिनेगरी लक्ष्मीनारायण मठमा उक्त प्रतिमा स्थापित गरेर प्राण प्रतिष्ठा गर्न लागिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

“स्थापित परम्पराअनुसार धार्मिक विधिका साथ मठमा श्रीराम र जानकीको प्रतिमा स्थापित गरेर आजै प्राण प्रतिष्ठा गरी पूजा अर्चना थालिनेछ”, नगरप्रमुख मण्डलले भने, “रामलीला (श्रीरामको बालस्वरुप) को प्रतिमा अयोध्यामा प्राण प्रतिष्ठा गरिने कार्यक्रम सँगसँगै हामी यहाँको प्रतिमा स्थापनाको काम सक्छौँ ।” अहिले जताततै बन्दै गएको श्रीराममय परिवेशको साक्षात् अनुभूति नगरवासीलाई गराउन प्रतिमा बनाएर स्थापित गर्न लागिएको उनको भनाइ थियो ।

प्रतिमा स्थापित र प्राण प्रतिष्ठाको कार्यक्रमसँगै जोडेर अहिले बिहान पवित्र लक्ष्मी सागरमा आरती भइरहेको छ । लक्ष्मी सागर तलाउ अघि त्रेता युगमा श्रीराम र सीताको विवाहमा यज्ञ वेदी बनाउन माटो खनिएको पवित्र स्थल मानिन्छ । आज साँझ लक्ष्मीनारायण मठमा महाआरती र सांस्कृतिक उत्सवका कार्यक्रम आयोजना गरिँदै छ ।

यो धार्मिक समारोहको तयारीमा मटिहानीस्थित लक्ष्मीनारायण मठ परिसर, लक्ष्मी सागर र वरपर दुलही झैँ सिँगारिएको छ । शिल्पकार राजु लालले १५ दिन लगाएर उक्त प्रतिमा कुँदेका हुन् । प्रतिमा बनाउन काठका २० वटा प्लाई (फलेक) प्रयोग भएका उनले बताए ।

आइतबार जलेश्वर, मटिहानी र मनराशिशवा नगरपालिकाले आआफ्ना नगर क्षेत्रमा नगर शोभा यात्रा गरेका र आज जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा अर्चनाका कार्यक्रम भइरहेको छ । श्रीरामलीलाको प्रतिमा प्राण प्रतिष्ठाको उत्सव मनाउन मनराशिशवा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !