काठमाडौं । संघीय संसद अन्तर्गत तल्लो सदन प्रतिनिधिसभाको आज जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दलका सांसदहरुले हल्लाखल्ला र अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक पेस हुने बेलामा विपक्षी दलका सांसदहरू बाहिर गएको आरोप लगाएका थिए । लगतै विपक्षी सांसदहरूले उठेर विरोध गरे । सत्तारुढ सांसदहरू पनि प्रतिवादमा उत्रिएपछि संसदमा हल्लाखल्ला भएको थियो ।
त्यसपछि सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई भनाई राख्न समय दिए । उनले प्रतिपक्षमाथि हिलो छ्यापेको आरोप लगाए । आफूहरूका कारण विधेयक पास गर्न कहाँ बाधा पुग्यो ? भन्दै उनले प्रश्न गरे ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारको अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै आजको बैठक चल्न नदिने चेतावनी दिएका थिए । लगत्तै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसदमा रहेर संसदकै विरोध गर्ने हो भने राजीनामा दिन चेतावनी दिएका थिए ।