काठमाडौं । जिल्ला प्रहरी कार्यालयले तत्कालीन युवा सङ्घ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । प्रहरीले ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तर तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार रहेको जनाएको छ ।
रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताए । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर-३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिए ।
प्रहरीले सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका, ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका, १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा, ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका, ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई, ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका, ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।
प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।