कोरोनाभाइरस नियन्त्रणका लागि चीनले गरेका अनेकौँ प्रयासपछि उद्गमस्थल मानिएको वुहानमा संक्रमण कम हुँदै गएको राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
केही दिन पहिले चीनमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सयौँ रहेकोमा विगत एक दुई दिन यता यो सङ्ख्या ५० भन्दा कममा झरेको छ भने नयाँ सङ्क्रमित विरामी आउने क्रम पनि ह्वात्तै घटेको छ ।
भाइरसका कारण चीनमा दुई हजार ८७० व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार ८०० भन्दाबढी सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अत्यधिक रहेको छ । त्यहाँ ५ सय ८६ नयाँ संक्रमित पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ३६ पुगेको छ । भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ ।
उता, इटालीमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भाइरसका कारण २१ जनाको मृत्यु भइसकेको छ भने ७०० भन्दाबढी संंक्रमित भएका छन् । अमेरिकाको क्यालिफोर्निया र ओरेगन राज्यमा नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । त्यसैगरी इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट २ सय भन्दा बढीले ज्यान गुमाएका छन् । बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्यूजील्यान्ड र नाइजेरियामा पहिलोपटक सङ्क्रमण देखिएको छ ।
त्यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा र अस्ट्रेलियामा पनि एक÷एक जनाको ज्यान गएको छ । कोरोनाको कारण एक जनाको ज्यान गएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् ।