काठमाडौं। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा २०७५ मा मात्र निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीले बुधवार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने बताए । उनले अब बारम्बार निर्वाचनको तालिका सार्वजनिक नहुने बताए ।
उनले विद्यार्थी संगठनहरुसँग क्याम्पसले आन्तरिक सहमति गरेर स्ववियू निर्वाचन गर्न सक्लान्, त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन गराउँदैन।
बुधवार त्रिभुवन विश्व विद्यालयका उपत्यकाका सात र उपत्यका बाहिरका १५ वटा आंगिक क्याम्पसमा निर्वाचन भैरहेको जानकारी पनि त्रिपाठीले दिए । उनले स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण लागू गर्न नसके पनि निर्वाचन शान्तिपूर्ण भएको वताए ।
तर क्याम्पसले भने आन्तरिक सहमतिमा निर्वाचन गर्न सक्ने जनाएको छ । आपसी सहमतीमा जहिले पनि निर्वाचन गर्न सकिने र त्यसमा निर्वाचन समितिले बााधा अड्काउ नगर्ने पनि जनाइएको छ ।