काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोनाको संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गरेको हो ।
संघले उपचारका लागि तोकिएका अस्पतालहरुमा रहेका अन्य विरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरुमा देखिएको अवस्थालाई मधयनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताए ।