कोरोनाको महामारीसँग जुध्न उच्चस्तरीय विज्ञ समिति गठन गर्न साझा पार्टीको आग्रह

आजभोलि

साझा पार्टीले कोरोना भाइरस (कोडि १९) सङ्क्रणमको जोखिम र सङ्कटसँग जुध्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र उच्चस्तरीय विज्ञ समिति गठन गर्न आग्रह गरेको छ । 

सुझाव पत्र पार्टी अध्यक्ष रविन्द्र मिश्र र प्रवक्ता सूर्यराज आचार्यले शनिबार उपप्रधानमत्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका थिए ।

सुझाव पत्रको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रथमत यहाँको सुस्वास्थ्यको लागि कामना गर्दछु । साथ, स्वास्थ्य प्रतिकूलताका अलावा जुन आत्मविश्वास र दृढताका साथ यो कठिन घढीमा देशलाई नेतृत्व प्रदान गर्ने प्रयास गरिरहनुभएको छ, त्यसका लागि शुभकामना अर्पण गर्दछु ।

यो देशले पछिल्ला वर्षहरूमा दुई वटा कठिन समयहरूको दृढताका साथ सामना गर्यो। पहिलो २०७२ सालको भूकम्प थियो भने दोस्रो त्यसको लगत्तै नेपालले बेहोरेको नाकाबन्दी थियो। नाकाबन्दीको सामाना हामीले तपाईंकै नेतृत्वमा सफलतापूर्वक गरेका थियौँ ।

ती दुर्वै सङ्कटका चुनौती आँकलन गर्न सकिने प्रकृतिका थिए । तर कोरोना भाइरसको विज्ञान अझै स्पष्ट भएको छैन र महामारीको सम्भाव्य परिणाम आँकलन गर्न नसकिने प्रकृतिको छ । कोरोना महाव्याधीबाट विश्व नै आक्रान्त बनिरहेको छ। स्रोत र साधनमा कमजोर रहेको नेपालका लागि यसले अकल्पनीय रूपमा विकराल स्थिति सिर्जना गर्न सक्छ।

यो अवस्थामा तात्काल राहतका लागि सरकारले के कस्ता कदम चाल्न जरूरी छ भन्नेबारे सरकार स्वयं जानकार छ भने आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा सर्वसाधारणदेखि विभिन्न क्षेत्रका विज्ञहरूले पर्याप्त राय दिइसकेका छन्। त्यसैले म पुनः तिनै विषयमा प्रवेश गर्न चाहन्न । म साझा पार्टीको तर्फबाट सिर्फ दुई वटा विषयबारे यहाँको ध्यानाकर्षण गर्न चाहन्छु ।

१. उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्रको निर्माणः व्यक्तिगत सुरक्षा सामाग्री (पीपीइ) को अभवमा एम्बुलेन्सले बिरामी बोक्न नमानेको, डाक्टरहरूले राजीनामा दिन थालेको, ठूला अस्पतालहरूसँग आवश्यक उपकरण र स्वास्थ्यकर्मी पर्याप्त नभएको, सम्भावित सङ्क्रमितहरूलाई परीक्षणका लागि पहिचान गर्न नसकिएको, आम जनजीवन अस्तव्यस्त हुन थालेको, श्रमिकहरू भोकै पर्ने अवस्था आउन लागेको, आपूर्ति अवरूद्ध भएकोदेखि अर्थतन्त्रमा तत्काल र दीर्घकालका लागि सङ्कट उत्पन्न हुने लगायतका अवस्था आएको देखिएको छ । माननीय उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको ‘कोरोना रोग सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ले सक्दो प्रयास गरिरहेको छ ।

तर सङ्कटको बहुआयामिक स्वरूप र वर्तमान अवस्थाको गम्भीरतालाई हेर्दा सरकारको नियमित र घनीभूत क्रियाशीलताका साथै राष्ट्रिय सहमति प्रतिबिम्बित हुने राजनीतिक तहको एेक्यवद्धतापूर्ण निर्णय जरूरी पर्दछ । तसर्थ सम्भव छ भने तपाईंकै नेतृत्वमा, त्यो सम्भव नभए उपप्रधानमन्त्री ईश्वर पोखरलेज्यूको नेतृत्वमा प्रमुख दलका नेताहरू समेत रहने गरी उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्नु अत्यावश्यक देखिएको छ । यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्न विचार, राय र सुझावलाई समीक्षा र संश्लेषण गर्ने माध्यमको रुपमा पनि काम गर्नेछ । सङ्कटको यो घडीमा आम जनमानसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्न समेत यस्तो संयन्त्रले सहयोग गर्नेछ । 

२. उच्चस्तरीय विज्ञ समितिको निर्माणः वर्तमान सङ्कटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्नका लागि सरकारलाई निरन्तर रूपमा आवश्यक विश्लेषण, सुझाव र समीक्षाका लागि एउटा उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न उपयुक्त हुनेछ । त्यो समितिमा प्रशासन र स्वास्थ सेवाका सम्बन्धित अधिकारीहरू लगायत देशभित्र र बाहिर रहेका नेपाली र आवश्यक परेको खण्डमा विदेशी विज्ञहरूलाई पनि सामेल गर्न सकिन्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

भर्खरका संरचनाभित्रको घनीभूत प्रयासको निरन्तरताले मात्रै यो सङ्कटको सामना गर्न कठिन छ। यो अभूतपूर्व मानवीय सङ्कटसँग जुध्न सरकारले आफ्नो कार्यशैलीमा अभूतपूर्व संरचनागत फेरबदल गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । साझा पार्टी सरकारको कुनै पनि त्यस्तो प्रयासमा सहायकसिद्ध हुनसक्छ भने खुसीसाथ सहयोगको हात बढाउन तत्पर छ । साथसाथै आम नागरिकले यस्तो अवस्थामा सरकारबाट अत्यन्तै जिम्मेवार, जवाफदेहीपूर्ण र परिणामूखी कार्यशैलीको अपेक्षा गर्नु स्वभाविक हुनेछ ।

ससम्मान
रवीन्द्र मिश्र
संयोजक, साझा पार्टी
मितिः १५ चैत २०७६ 

  • १६ चैत्र २०७६, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !