कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन म्याद थपेर आगामी अप्रिल २८ तारिखसम्म पुर्याएको मलेसिया सरकारले जनाएको छ ।
प्रधानमन्त्री मुहिद्धिन यासिनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताएका छन् ।
कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।
मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ । गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो ।
त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागु हुनेछ ।
औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गरेका छन् ।
शनिबार थप ३ जनाको मृत्यु भएसंगै मलेसियामा मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको हो ।
हालसम्म मलेसियामा ४ हजार ५ सय ३० जनामा संक्रमण देखिएकोमा १ हजार ९ सय ९५ जना उपचारपछि घर फर्किएका छन् ।