बोष्टन । धुर्मुस–सुन्तली फाउण्डेशनलाई बोष्टनबासी नेपालीबाट झण्डै १२ हजार डलर संकलन भएको छ । फाउण्डेशनले महोत्तरीको बर्दिवास रहेको मुसहरहरूका लागि निर्माण गरिरहेको अावासमा सहयोग पुर्याउन सो रकम संकलन गरिएको हो ।
बोस्टन नगरको वेष्टरक्सवेरीस्थित हिमालय विस्त्रोमामा धुर्मुस–सुन्तली फाउण्डेशन सहयोग कार्यक्रमा सो रकम संकलन गरिएको छ । आईतबार साँझ भएको कार्यक्रमा बोस्टनबासी तथा कनेक्टिकटबासी समेतले चन्दा दिएको लेखक तथा साहित्यकार शिवप्रकासले जानकारी दिए । अझै केही व्यक्तीले रकम सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँदै उनले सहयोग रकम बढ्ने विश्वास व्यक्त गरे ।
चन्दा सहयोगका लागि बोस्टन र आसपास क्षेत्रमा बस्ने नेपालीहरूलाई कार्यक्रममा आउन र आफूले सकेको सहयोग गर्न सामाजिक सञ्जाल, फोन र व्यक्तिगत सम्पर्कमार्फत जानकारी गराइएको थियो ।
उनकाअनुसार यो कार्यक्रमबाट उठेको सबै रकम धुर्मुस–सुन्तलीले महोत्तरीको बर्दिवासमा बनाउन लागेको एकीकृत नमूना मुसहर बस्तीका लागि तुरुन्त पठाइने छ।
आगामी बैशाख १ गते सम्बन्धित घरधनीलाई साँचो बुझाउने तयारीसहित बर्दिबासका मुसहरहरूलाई ५० अोटा घरको निर्माण कार्यको लागि सहयोग जुटाउन कार्यक्रम अायोजना गरिएको शिवप्रकाशले जानकारी दिए ।
सो कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनद्धारा तयार गरिएको मुसहर बस्ती निर्माण सम्बन्धी बृत्तचित्र प्रदर्शन गरिएको थियो भने कार्यक्रमका सहभागीहरुको मनोरञ्जनका लागि हिमालयन हेरिटेज कल्चरल एकेडेमीको सांगीतिक प्रस्तुति गरेको थियो ।
कार्यक्रममा हल तथा डिनरको व्यवस्था हिमालयन बिस्त्रोले गरेको थियो ।