संयुक्त राज्य अमेरिकाले चीनलाई टेक्सासको ह्युसटनमा रहेको महावाणिज्य दूतावास हटाउन आदेश दिएको छ ।
चीनले राजनीतिक उत्तेजना फैलाएको भन्दै अमेरिकाले उक्त महावाणिज्य दूतावास हटाउन ३ दिनको समय दिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकनहरुको बौद्धिक सम्पत्तिको सुरक्षाका लागि उक्त निर्णय लिएको विदेश मन्त्रालयल बताएको छ । तर, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले उक्त निर्णय अपमानजनक र अनुचित भएको टिप्पणी गरेका छन् । उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन् ।
कार्यालय परिसरमा एक अज्ञात व्यक्तिले काम नलाग्ने कागजका टुक्राहरुको भिडियो खिचिरहेको देखिएपछि अमेरिकी विदेश मन्त्रालयले उक्त निर्णय लिएको जनाइएको छ । केही समयदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले व्यापार र कोरोना भाइरसको महामारीका कारण आलोचना गरिरहेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोष व्यक्त गरेको छ ।