काठमाडौं । स्थानीय तहको पहिलो चरणको क्रममा दोलखा जिल्लाको मेलुङमा घटेको समचारको विषयलाई लिएर आजभोलि अनलाइनका सह सम्पादक अस्मिता खड्कालाई जेठ ३ गते ज्यान मार्ने धम्की आएको छ । आफू स्थानीय कांग्रेस नेता रहेको बताउने एक व्यक्तिले आफ्नो पार्टी कांग्रेस बिरुद्ध समाचार लेखेको भन्दै ज्यान मार्ने धम्की दिएका हुन् । उनले फोन गर्दै जुन सुकै बेला पनि जे पनि हुन सक्ने भएकाले बचेर रहनु भन्ने चेतावनीपूर्ण धम्की दिएका थिए ।
सह सम्पादक खड्काले आफूले सत्य तथ्य समचार लेखेको कसैको बिरुद्ध नभएको बताएपछि झन आक्रोसित हुदै उनले तलाई अब म पत्रकारिता सिकाउछु, कसरी लेख्ने भनेर । तेरो हातले लेख्ने यो अन्तिम समाचार हुनेछ । अहिलेसम्म तैले अरुको समाचार लेखिस अब अरुले तेरो समाचार लेख्छन् भन्दै फोन राखेका थिए । पछि उक्त फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन् । त्यसपछि पार्टीको जिम्मेवार नेतासँग बुझ्न खोज्दा आनाकानी गरेर उत्तर नदिइ आफूलाई थाहा नभएको बताए ।
यही विषयलाई लिएर स्थानीय प्रहरीको उजुरी हाल्न खोज्दा प्रहरीले सत्ताको आँडमा प्रमाण नपुगेको भन्दै उजुरी दर्ता गर्न मानेन् । बारम्बार अनुरोध गर्दा पनि प्रहरीले कुनै चासो नदेखाएपछि उनी दोलखाबाट काठमाडौं विस्थापित भएका छन् । एक महिला पत्रकारमाथि पुरुषबाट भएको यो अन्याय महिलामाथिको हिंसा भए पनि राजनीतिक दबाबका कारण प्रहरीले जाहेरी लिन मानेन् । जसको कारण खड्का जीवन अझ जोखियुक्त बनेको छ।
समाचार लेखेकै भरमा एक स्वतन्त्र पत्रकारलाई ज्यान मार्ने धम्की आउनु र सम्बन्धित क्षेत्रमा काम गर्ने वातावरण नभएको भन्दै आजभोलिका सम्पादक गोपीकृष्ण भट्टराईले विरोध जनाएका छन् । उनले भने यस्ता घटना लोकतन्त्रमा सहन नसकिने र आफ्ना लागि सह्य नहुने बताए । र, उनले दोषी उपर कारबाही गर्न माग समेत गरेका छन् ।