ट्युनिस । ट्युनिसियाका राष्ट्रपति कैस सैयदले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् । सरकारविरुद्ध देशभर विरोध प्रदर्शन चलिरहेको बेला राष्ट्रपति सैयदले संसद भंग गर्दै प्रधानमन्त्री हिचम मेचिचीलाई बर्खास्त गरेका हुन् ।
राष्ट्रपति सैयदले आफू शान्ति स्थापना गर्न चाहेको भन्दै नयाँ प्रधानमन्त्री नियुक्त गरेर सहयोग लिने घोषणा गरेका छन् । तर, विपक्षीहरूले आफ्नो कुर्सी जोगाउन राष्ट्रपति सैयदले प्रधानमन्त्रीलाई बर्खास्त गरेर संसद भंग गरेको आरोप लगाएका छन् ।
कोरोना महामारीविरुद्ध लड्न र अर्थव्यवस्था ठीक तरिकाले सम्हाल्न नसकेको भन्दै ट्युनिसियामा सरकारविरुद्ध प्रदर्शन हुँदै आएको छ । कतिपय सहरमा प्रर्दशनले हिंसात्मक रूप लिइसकेको छ ।
राष्ट्रपति भन्छन् ‘हतियार उठाउने योजना बनाउनेहरूलाई म चेतावनी दिन चाहन्छु । जसले गोली चलाउने छ, उ माथि सुरक्षा बलले पनि गोलीले जवाफ दिने छ,’ उनले आफ्नो कदम संवैधानिक रहेको दाबी गरेका छन् ।