वीरगञ्ज । पूर्व-पश्चिम राजर्मागको पथलैया निजगढ सडकखण्डदेखि चार किलोमिटर दक्षिणतर्फ टांगियाबस्ती रहेको बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ टांगियाबस्तीको दलितबस्तीमा भोट माग्न आउनेलाई लालपूर्जाको ग्यारेष्टि मागेका छन् । अगुवा दलित महिला पवित्रा सुन्दास मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा लालपुर्जा दिने उम्मेदवारलाई भोट दिने बताए ।
टांगियाबस्तीका सुकुम्वासी ४२ वर्षदेखि सुकुम्वासी रहेका छन् । प्रत्येक निर्वाचनमा नेताहरु हाम्रो भोट पाएर जित्छ तर फर्केर आउँदैनन्, सुन्दासले पीडा सुनाए ।
बस्तीमा एक हजार ४७६ घरधुरीको बसोबास छ । दुई हजार ६०० मतदाता रहेका छन् । टांगियाबस्ती क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि सो बस्ती खाली गराउन सरकारले निर्देशन दिएको छ । बस्तीका सुकुम्वासीले जग्गाको सट्टा जग्गा नै माग गरेका छन् ।
नेताहरुले लालपुर्जा उपलब्ध गराउने आश्वासन र सपना बाँड्दै आएका छन्, तर चुनाव जितेर गएपछि फर्केर आउँदैनन्,” स्थानीयवासी इन्द्रदेव विश्वकर्माले भन्नुभयो । सात सय ३१ बिघा १४ कट्ठा जग्गामा बस्दै आएका टांगियाबस्तीका बासिन्दालाई विभिन्न दलका नेताले लालपुर्जालगायत आधारभूत आवश्यकता पूरा गर्ने आश्वासन दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “आजसम्म लालपुर्जा पाउन सकेका छैनौँ ।
धावनमार्गको बीचमा पर्ने भएकाले बस्ती व्यवस्थापन हुन नसक्दा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बाधा पुगेको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणका लागि एक हजार १०० बिघा जग्गा छुट्याइएको छ । सोमध्ये ७३१ बिघा १४ कट्ठा जग्गामा बस्ती रहेको छ ।