काठमाडौं । न्याय परिषद्ले अाज एक पत्र थमाउँदै प्रधानन्याधिश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेको छ । ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएको न्याय परिषद सचिवालयले थमाएको पत्रमा उल्लेख गरिएको छ ।
उमेर विवादमा पराजुली तानिदै अाएका थिए । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको थियो ।
न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा पराजुलीले २१ साउनमा नै अवकास पाएको देखिएको परिषद्को पत्रमा उल्लेख छ ।
न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।
पत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले न्यायसेवामा पुर्याउनु भएको योगदानप्रति हार्दिक धन्यवादका साथ सेवा निवृत्त जीवन सुखमय रहोस् भन्ने कामना गर्दछु ।’