लमजुङ । नेपाल तामाङ घेदुङ, जिल्ला समन्वय समिति, लमजुङले यस वर्षको सोनाम ल्होछार भव्यताका साथ मनाउने निर्णय गरेकाे छ । पत्रकार सम्मेलनमार्फत समितिले २८५८औं सोनाम ल्होछार (तक ल्हो) भव्यताका साथ मनाउने निर्णय गरेको जनाएकाे हाे ।
यहि ३० पुस फुलबारी मञ्चमा सोनाम ल्होछार मनाउने गरी प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो । लमजुङ जिल्लामा रहेका जनजातिमध्ये दोश्रो स्थानमा रहेका तामाङ जातिको भाषा, धर्म, लिपि, मौलिक संस्कार र संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको हाे ।
कार्यक्रममा तामाङ जातिको परम्परागत भेषभूषा, बाजागाजा, वोम्बो, लम्ब, लामा, गन्बा आदिको प्रदर्शनी समेत गरिनेछ । यसैगरी, कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्ना गर्न समेत कार्यक्रमले सहयोग पुग्ने आयोजकले लक्ष्य लिएको छ ।
बेँसीशहरको फुलबारी मञ्चमा गर्न लागिएको कार्यक्रमलाई जिल्लाका उद्योगी, व्यापारी, व्यवसायी, विद्यार्थी, शिक्षक, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि र अनुसन्धानकर्ता एवं स्थानीय र छिमेकी जिल्लाका आमनागरिकले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।
२५ हजार दर्शकले उक्त उत्सव अवलोकन गर्ने लक्ष्य राखेकाे आयोजकले जनाएको छ ।