रुकुम पूर्वमा खाद्यको चामलको माग बढ्दो

आजभोलि

मुसीकोट । रुकुम पूर्वमा खाद्यको चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका अनुसार जिल्लामा चामलको माग बढेको हो । यो भन्दा पहिला जिल्लामा खाद्यको शाखा कार्यालय थिएन ।

चामलको माग बढेपछि जिल्लामा शाखा नै स्थापना गरेर चामल बिक्री सुरु गरिएको छ । जिल्लामा असोजदेखि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा रुकुमकोटमा स्थापना भएको छ । योभन्दा पहिला शोभा डिपो र तकसेरा डिपोबाट चामल बिक्री हुँदै आएको थियो । यो आवमा जिल्लामै शाखा स्थापना हुँदा सहज भएको शाखा प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।

शाखाबाट असोजदेखि हालसम्म साढे ११ सय क्विन्टल चामल बिक्री भएको छ । रुकुमकोट शाखाबाट मात्रै यति धेरै मात्रामा चामल बिक्री भएको शाखा प्रमुख खड्काले बताए ।
उनका अनुसार तकसेरा डिपोबाट पनि चामल बिक्री भइरहेको छ । जिल्लामा धान कम फल्ने गर्छ । सिस्ने गाउँपालिकाबाहेक अन्य दुई पालिकामा भने कमै मात्रामा धान खेती हुने भएकाले पनि खाद्यको चामल धेरै बिक्री हुने गरेको शाखा प्रमुख खड्काको भनाइ छ ।

असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म शाखाबाट सस्तोमा चामल बिक्री वितरण पनि भएको थियो । उक्त समयमा एक क्विन्टलमा रु सात सय छुटमा चामल बिक्री गरिएको शाखा प्रमुख खड्काले बताए । उनका अनुसार सोही अवधिमा मात्रै सात सय क्विन्टल चामल बिक्री भएको थियो ।

शाखाले सहकारीमार्फत गाउँगाउँमा पुगेर चामल बिक्री गर्ने योजना पनि बनाएको छ । जिल्लामा रहेका जुनसुकै सहकारीलाई चामल बिक्री गर्नका लागि आग्रह गरिएको छ । सहकारीले खाद्य शाखासँग सम्झौता गरेमा सदरमकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने छन् ।

तकसेरा डिपोमा भने खाद्यको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी हुने गरेको छ । तकसेरामा रहेको डिपोमा ठेकेदारले चामल ढुवानी गर्ने गरेका छन् । प्रादेशिक कार्यालय भैरहवाले चामलको कोटाअनुसार ठेक्का आह्वान गर्ने र ठेकेदारले तकसेरासम्म ढुवानी गर्ने गरेको रुकुमकोट शाखा प्रमुख खड्काले बताए ।

यो आर्थिक वर्षमा तकसेरा खाद्य डिपोमा सात सय ५० क्विन्टल चामल ढुवानीको ठेक्का परेको र आवश्यक परेमा कोटा थप हुनेछ । हाल जिल्लामा खाद्य शाखाबाट स्टिम जिरा, सोना मन्सुली, अरुवा मोटो र बास्मती चामल बिक्री भइरहेको छ ।

  • ८ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !