प्रचार हुन नसकेको टक्सारको सरस्वती गुफा

आजभोलि

टक्सार(भोजपुर) ।श्रीपञ्चमीका दिन मुलुकभरका सरस्वती मन्दिरमा भिड बढिरहँदा सदरमुकाम नजिकै रहेको भोजपुर नगरपालिका–१२ टक्सारको सरस्वती गुफा भने आधुनिकतासँगै यसको महत्व नबुझ्दा ओझेलमा परेको छ ।

सदमुकामदेखि आघा घण्टाको दूरीमा रहेको टक्सारको सरस्वती गुफा अहिले आएको आधुनिक जीवनशैली र विकसित प्रविधिले ओझेलमा पर्दै गएको हो । सरस्वती गुफामा बसेर सात दाना अक्षता नचपाइ निल्दा बुद्धि बढ्ने विश्वास विगतमा रहे तापनि हाल यसको महत्व कम हुँदै गएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।

विगतमा साना बालबालिकालाई अक्षर चिनाउनका लागि सरस्वती पूजाका दिन यही गुफामा लगिने गरिएको भए पनि अहिले भने सो परम्परालाई निरन्तरता दिन छाडिएको स्थानीय सानुकाजी शाक्यले बताए । उनले भने,“ढुङ्गाले बनेको गुफाको भित्र भागमा सरस्तीको पूर्ण आकृति भएको ढुङ्गासमेत रहेको छ, यही कारण पनि यो गुफाको महत्व देखिएको छ ।”

विसं १९९० को भूकम्पअघिसम्म भोजपुर सदरमुकाममा रहेको प्रसिद्ध सिद्धकाली मन्दिरमा रहेको शिवथानबाट भित्रभित्र हुँदै साँधुहरु टक्सारको सोही सरस्वती गुफाबाट बाहिर निस्कने गरेको भनाइ अहिले पनि टक्सारका बुढापाकाबाट सुन्न पाइन्छ ।

भूकम्पको धक्काले गुफा प्रवेशको मार्गमा अवरोध खडा भएपछि सहजरुपमा आवतजावत गर्न समस्या भएको बताइन्छ । बाटो सफा गरेर गुफा प्रवेशमा सहजता ल्याउने हो भने गुफाको महत्व बढ्नुका साथै गुफा धार्मिकस्थलका रुपमा विकसित हुने स्थानीय शिक्षक दीपेन्द्र श्रेष्ठ बताउँछन् । अहिले भने विद्यालयमा नै सरस्वती पूजा हुने गरेको र साना बालबालिकालाई पनि विद्यालयमा नै लगेर अक्षरारम्भ गराउने गरिएकाले यसको महत्व कम भएको शिक्षक श्रेष्ठको धारणा छ ।

सरस्वती गुफा धार्मिक पर्यटकीय हिसाबले पनि महत्व बोकेको स्थल भएकाले यसका लागि पर्यटन मन्त्रालयले पनि चासो देखाउनुपर्ने स्थानीयको माग छ । स्थानीय विमल रणपहेलीले भने, “यस्ता इतिहास बोकेका स्थानको संरक्षणमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्छ, अहिलेका पर्यटनमन्त्री भोजपुरका भएकाले यसतर्फ उनको पनि ध्यान जान जरुरी छ ।” सो स्थानको भित्री भागमा सरस्वतीको पूर्ण आकृति भएको ढुङ्गा रहेकाले गर्दा गुफाको नाम सरस्वती गुफा रहन गएको किंवदन्ती रहेको पाइन्छ ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !