६६ वर्षमा पनि बनेन कान्ति लोकपथ

आजभोलि

पाटन । काठमाडौंलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको कान्ति लोकपथ निर्माण सुरु भएको ६६ वर्ष बित्यो । तर हालसम्म पनि यसले मूर्तरुप लिन सकेको छैन । आयोजनामा हालसम्म कति खर्च भयो भन्ने हिसाबसमेत सरकारसँग छैन ।

सडक निर्माण गर्न नेपाली सेनाको नेतृत्वमा विसं २०१३ मा ट्र्याक खन्न सुरु गरिएको थियो भने २०१६ सालमा सकिएको थियो । ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोकदेखि जीपमा ललितपुरको टीकाभैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ ।

कुल ९१ किलोमिटर लामो सडक निर्माणमा राज्यको पर्याप्त ध्यान पुग्न सकेको देखिन्न । कान्तिलोकपथ आयोजनाका प्रमुख सुरेश न्यौपाने पुरानो ठेक्का सम्पन्न नहुँदा र राज्यले उचित ध्यान नदिँदा नयाँ काम हुन नपाएको बताउँछन् । ‘पुराना ठेक्काका काम द्रुतगतिमा भइरहेका छन्’, उनले भने, ‘अर्थ मन्त्रालय समक्ष बहुवर्षीय ठेक्का हुने गरी ६६ करोडको योजना सहमतिका लागि पठाएका छौंँ । योजना आयोगबाट पनि सिफारिस भइसकेको छ ।’ उनका अनुसार अर्थ मन्त्रालयले सहमति दिए डेढवर्षभित्र कान्तिलोकपथ ‘डवल लेन’सहित सञ्चालन हुनेछ ।

कान्ति लोकपथ आयोजनाका इञ्जिनियर रबीन्द्र महर्जनका अनुसार अहिले दुईवटा पुरानो ठेक्काको काम भइरहेको छ । पहिलो ठेक्का अन्तर्गत हेटौँडाको बुद्ध चोकलाई जिरो मानेर ५७ किलोमिटरदेखि ६४ सम्म सात किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ । यसमध्ये करिब दुई किमी सम्पन्न भइसकेको छ ।

उनका अनुसार बिरुवा एसएल सुनकोसी कन्ट्रक्सनले १९ करोड ३९ लाख ८३ हजार आठ सय ६४ रुपैयाँमा लागतमा काम पूरा गर्ने गरी आर्थिक वर्ष २०७२र७३ मा सम्झौता गरेको थियो । विसं २०७३ साउन १६ मा सम्झौता भएको यो ठेक्काको अन्तिम पटक २०७९ चैत ३० सम्म सम्पन्न गर्नेगरी म्याद थप भएको इञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।

त्यस्तै दोस्रो ठेक्का अन्तर्गत ग्याबिन भर्ने, मेसिनरी वाल लगाउने, ढलान लगायतका स्ट्रक्चर बनाउने र टालटुल गर्ने काम भइरहेको छ । यसका लागि नागार्जुन सर्वशक्ति जेभी, लिटी कालिका कन्ट्रक्सन एण्ड सप्लायर्स, एटलान्टिक नेपाल, थोदुङर विकास एण्ड ब्रदर्श जेभीले काम गरिरहेको उनको भनाइ छ ।

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र सकिए पनि अझै केही ठाउँमा कालोपत्र गर्न बाँकी रहेको कान्ति लोकपथ योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी इञ्जिनियर महर्जनले बताए ।

  • १२ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !