गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले आफ्नो आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सामुदायिक वनले वन पैदावार बिक्री गरी भएको रु एक करोड बराबरको आम्दानी सामाजिक क्षेत्रमा लगानी गरेको समूहका अध्यक्ष पुण्य चोखालले जानकारी दिए ।
वनबाट भएको आम्दानी भवन, पोखरी, सडक निर्माण तथा पहिरो नियन्त्रण र शिक्षाका क्षेत्रमा लगानी गरिएको छ । समितिको २४औँ साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा सार्वजनिक गरिएको आर्थिक प्रतिवेदनमा वन पैदावर बिक्रीबाट भएको आम्दानीलाई सामाजिक तथा शैक्षिक क्षेत्रमा लगानी गरिएको उल्लेख छ ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले सामुदायिक वनबाट भएको आम्दानी सामाजिक काममा खर्च गर्नु राम्रो भएको बताए । उनले वन संरक्षणमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीले वडा क्षेत्रमा पर्ने सामुदायिक वनको संरक्षण र प्रवद्र्धनमा वडाले सक्दो सहयोगको प्रतिबद्धता जनाए ।
छ सय एक जना उपभोक्ता रहेको सो सामुदायिक वन जिल्लाकै अगुवा सामुदायिक वन मानिन्छ ।