किबीबाट जाम उत्पादन सुरु

आजभोलि

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम (खुदो) उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् ।

उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । “परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ”, उनले भने, “पहिलो चरणमा पाँच सय ग्रामको रु तीन सय र सात सय ग्रामको रु चार सयमा बिक्री गर्ने गरिएको छ ।”

जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए ।

गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा रु २५ लाख बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा रु पाँच लाख लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् ।

जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो ।

दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किबी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रति केजी रु दुई सय ५० मा फार्मबाटै जिल्ला बिक्री हुँदै आएको छ ।

जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई तथा राजधानी काठमाडौँमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् ।

  • १६ माघ २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !