सुपरदोर्दी ‘ख’ आयोजना निर्माण सम्पन्न

आजभोलि

लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ ।

कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ ।

मुख्य सुरुङको २०÷२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ ।

आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल रु आठ अर्ब ८० करोडको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित रु १० अर्ब ३९ करोड देखि ५० करोडसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी छ ।

विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए)गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो ।

पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने (पिपिए)सम्झौता गरिएको छ ।

  • २५ माघ २०७९, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !