अर्थ जङ्ग शाही
बझाङ । बझाङको सदरमुकाम चैनपुर देविस्थान मन्दिर नजिकै रहेको ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडलाई नेपाल कम्यूनिष्ट पार्टी ‘विप्लव’ले एक प्रेस विज्ञप्ति जारी गर्दै जनकारबाही गर्ने विज्ञप्ति मार्फत जनाएको छ ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बझाङले ठगीमा संलग्न रहेको आरोपमा एक लघुवित्तलाई जनकारबाही गर्ने जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज तथा सेक्रेटरीले बुधवार विज्ञप्ति जारी गर्दै सदरमुकामस्थित ग्रामीण विकास वित्त वित्तीय संस्था लिमिटेडलाई कारबाही गर्ने जानकारी दिएका छन् ।
ग्रामीण विकास वित्त वित्तीय संस्था लिमिटेडमा एक व्यक्तिले जग्गा धनीको जानकारी बिना ६ कित्ता जग्गाको लालपुर्जा राखी तीन लाख रुपैयाँ कर्जा लिएको विज्ञप्तिमा उल्लेख छ । साथै, हाल उक्त जग्गाको कर्जा लगानी धितो सम्बन्धी नियम पालना नगरी रोक्का गरेको उल्लेख छ । दलाल गिरोहमार्फत आर्थिक कारोबार गरी ठगी धन्दा सञ्चालन गरी रहेको विज्ञप्तिमा भनिएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालय, बझाङी जनसमुदाय, पत्रकार सबैलाई जानकारी सहित उक्त ठगी कार्यमा संलग्न व्यक्तिहरूलाई आवश्यक जनकारबाहीको लागि यो प्रेस विज्ञप्ति जारी गरिन्छ ।’
ठगीमा संलग्न व्यक्ति तथा संस्थालाई पार्टीको निर्देशन अनुसार कारबाही गरिने सेक्रेटरी प्रबिन सिले बताए ।