ऐनापहराका ढुङ्गामा भगवान्का आकृति कोरिँदै

आजभोलि

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पृथ्वीराजमार्गको आडैमा ऐनापहरा छ । आँबुखैरेनी गाउँपालिका–२ मा रहेको ऐनापहरा गाउँपालिकाको पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य हो ।

ऐनापहरा आउने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँका ढुङ्गामा भगवानका आकृति बनाउन सुरु गरेको छ । ऐनापहरालाई थप आकर्षक बनाउन प्राकृतिक ढुङ्गामा भगवान्का आकृति कुद्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

“पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ऐनापहरामा पार्क निर्माणको कामलाई तीव्रता दिएका छौँ, कालीगढ यतिबेला ढुङ्गामा भगवान्का आकृति कुध्न व्यस्त हुनुहुन्छ”, चुमानले भने। गाउँपालिकाले स्थानीय कालीगढलाई काममा लगाएर रोजगारीको अवसर प्रदान गरेको छ ।

ऐनापहरामा पार्क निर्माणका लागि चालू आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ”, चुमानले भने, “सोहीबमोजिम अहिले भइरहेको ठाउँलाई थप आकर्षण बनाउन काम सुरु भएको छ ।”

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल, खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्ने आनन्दित भएर फर्किन्छन् ।

पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐना पहरा झरना आकर्षक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

“काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्”, उनले भने, “यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ ।” यसका अलवा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि ऐनापहरा झरनामा आउने गरेका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ । त्यसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ । त्यसमाथि धुवाँ, धुलोले गर्दा सर्वसाधारणलाई समस्या भइरहेको छ । धुवाँ, धुलो र कष्टपूर्ण यात्राको थकान मेट्नका लागि ऐनापहरा झरना उपयुक्त माध्यम बनिरहेको छ ।

यहाँ स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना गाउँपालिकाको छ । यस क्षेत्रमा सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ । यसका अलावा चिसो मौसममा पनि यहाँ पुग्ने पर्यटकको उत्तिकै चाप रहने गर्दछ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार रु १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !