काठमाडौं। बालाजु क्षेत्रका यातायात मजदुरले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् ।
स्रोतका अनुसार बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।
मुल सडकमै प्रदर्शनकारीहरुले प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को गाडी पनि तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।
उनीहरुले प्रहरीले सडकमा राखेको डिभाइडरमा पनि आगजनी गरेका छन् ।
यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै आज दिनभरी बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका हुन् ।
प्रदर्शनकारीहरुले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् ।