८२ लाख मूल्य बराबरको बियर बरामद

आजभोलि

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ । मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो । दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।

बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । उनका अनुसार मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।

यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियो । उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।

यस्तैगरी, बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।

‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।

  • ४ फाल्गुन २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !