वनकाे डढेलोले घर जलेपछि परिवार बिचल्लीमा

आजभोलि

खोटाङ । डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् ।

जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा बाख्रा जलेर नष्ट भएको छ ।

स्थानीय आमकासुकसे सामुदायिक वनमा लागेको डढेलोको आगो हावाहुरीले उडाएर छानामा पु¥याएपछि बुधबार साँझ बस्नेत परिवारको घर जलेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीमा बस्नेत परिवारको रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए ।

आगलागीपीडित बस्नेत परिवार अहिले छिमेकी गणेश कार्कीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागीपीडित बस्नेत परिवारका लागि सम्बन्धित निकायले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । आगलागीमा बस्नेतको स्कुल पढ्दै गर्ने छोराछोरीको पुस्तक, कापी, कलम तथा विद्यालय पोशाकसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का नेता तामन राईले जानकारी दिए ।

“आगलागीपीडित बस्नेतको श्रीमती, छोराबुहारी र नातिनातिनी गरी १३ जनाको संयुक्त परिवार छन्”, उनले भने,“बाँदरले खाइदिने डरले सबै अन्नपात घरभित्र राख्ने गरेका थिए । जङ्गलबाट उडेर आएको आगोले घरै जलेपछि बिचल्लीमा परेका छन् ।”

आगलागीपीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले रु १० हजार सहयोग रकम उपलब्ध गराएको छ । कोषका हलेसी प्रतिनिधिमार्फत वडाका जनप्रतिनिधिको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको जिल्ला सचिव युगशन किराँतले जानकारी दिए ।

आगलागी पीडित बस्नेत परिवारलाई नगरपालिकाको तर्फबाट तत्कालका लागि करिब दुई महिना पुग्ने खाद्यान्नसहित अत्यावश्येक सामग्री उपलब्ध गराइएको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिए । तत्कालका लागि छिमेकीकामा बसाइएका बस्नेत परिवारलाई पुनःस्थापित गर्न नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।

आगलागीपीडित बस्नेत परिवारको सहयोगका लागि राहत सङ्कलन समिति गठन गरेर अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । आगलागीपीडित परिवारको घर अभेगमा रहेकाले पनि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

 

  • ५ फाल्गुन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !