‘विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी शहीदपार्क जाऔँ’

आजभोलि

काठमाडौँ ।  विश्वको सबैभन्दा ठूलो कागको मूर्ति काठमाडौँको गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न धातुले बनेको झण्डै दुई हजार किलो बराबरको कागको मूर्ति गागलफेदीस्थित चिहानडाँडा शहीदपार्कमा निर्माण गरेपछि त्यो हेर्न आन्तरिक पर्यटकको आकर्षण बढेको हो । दैनिक दर्जनौँदेखि सयौँ जना शहीदपार्कमा कागको मूर्ति हेर्नेको संख्या बढ्दो छ ।

यो कागको मूर्ति विश्वकै ठूलो भएको कागेश्वरी मनोहरा नगरपालिका १ का वडाध्यक्ष मुकुन्द गजुरेलले बताए । उनका अनुसार १४ सय किलो बराबरको कागको मूर्ति अमेरिकामा रहेको भएपनि त्योभन्दा ठूलो अर्थात १९ सय ३२ किलोको कागको मूर्ति शहीदपार्क चिहानडाँडामा राखिएको हो । र, यो कागको मूर्ति हेर्न पछिल्लो समय काठमाडौँ उपत्यकाबाट आन्तरिक पर्यटक शहिदपार्क चिहानडाँडा पुग्ने गरेका छन् । जहाँ घुम्न तथा वनभोज खान मिल्ने गरि पार्क निर्माण गरिएको छ भने कागको मूर्ति विशेष रुपमा सजाइएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका १ नं. वडाध्यक्ष गजुरेलले शहीदपार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परिरहेको बताए ।‘विश्वको सबैभन्दा ठूलो कागको मूर्ति हामीले बनाएपछि गागलफेदीको चिहानडाँडा शहिदपार्कमा आन्तरिक पर्यटक बढिरहेका छन् । त्यसबाहेक उपत्यकाबाट नजिकै पर्ने भएकाले शहीदपार्क, कागेश्वरी महादेव मन्दिर, मणिच्युड, शिवधामको मानव निर्मित ताल हेर्ने पर्यटकको संख्या बढ्दै छ’ उनले भने ।

साथै उनले कार्यक्रममा विश्वको सबैभन्दा ठूलो काग हेर्न गागलफेदी चिहानडाँडामा निर्माण गरिएको शहीदपार्क घुम्न पनि आह्वान गरे । ‘कागेश्वरीको मुख्य आकर्षण र पर्यटकीय क्षेत्रका रुपमा शहिदपार्क बनिरहेको छ । विश्वको सबैभन्दा ठूलो काग हेर्नलाई गागलफेदी शहिदपार्क जाऔँ ।’

नेपाल पर्यटन बोर्ड, बागमति प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा शहिदपार्क तथा कागेश्वरी महादेव मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माण गरिएको छ । शहीदपार्कमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने कागेश्वरी मन्दिरमा हिड्नेका लागि ट्रेल तथा पार्क निर्माणको काम चलिरहेको छ ।

कागेश्वरी मन्दिरमा रहेको सानो झरनाले पनि आन्तरिक पर्यटकको ध्यान तानिरहेको छ । मन्दिर पुगेका धेरै आन्तरिक पर्यटक फोटो तथा भिडियो बनाउँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकमा अपलोड गर्दै आएका छन् । यसले आन्तरिक पर्यटन वृद्धि गर्दै आइरहेको छ ।

  • ७ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !