प्रदेश गौरवको सडक निर्माणले गति लिँदै

आजभोलि

काठमाडौं । सुदूरपश्चिम प्रदेश गौरवको योजनाका रूपमा रहेको बैतडीको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडक निर्माण अघि बढेकोे छ । सुरु गरिएको २४ वर्षपछि सडक निर्माणले गति लिएको हो । आर्थिक वर्ष २०५५/५६ मा उक्त सडक शिलान्यास गरिएको थियो ।

सुरुमा ‘ट्र्याक’ खोल्नै ढिला भएकामा प्रदेश सरकारले यो सडकलाई गौरवको योजनाका रुपमा राखेपछि हाल स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

हाल कालोपत्र गर्ने काम भइरहेको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख जङ्गबहादुर थापाले बताए । यो सडकको सतबाँझदेखि साढे छ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता भएर काम भइरहेको छ । उनले भने, “आगामी जेठभित्र छ किलोमिटर कालोपत्र गरिसक्ने लक्ष्यसहित ठेक्का पाएको चन्द्रा एन्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले कालोपत्रको काम गरिरहेको छ ।”

आगामी जेठ मसान्तभित्रै काम सम्पन्न गर्ने गरी श्रीभावरदेखि हाट खण्डमा साढे आठ किलोमिटर स्तरोन्नतिको काम भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सतबाँझदेखि छ किलोमिटर सडक स्तरोन्नति गर्न रु १२ करोडमा ठेक्का सम्झौता भएको थियो भने श्रीभावरदेखि हाट खण्डमा आठ किलोमिटर स्तरोन्नतिका लागि १७ करोडमा यसअघि ठेक्का सम्झौता भएको थियो । अहिले दुवै ठाउँबाट सडक स्तरोन्नति गर्ने कार्य सुरु भएको जनाइएको छ ।

लामो समयपछि सडक निर्माणले गति लिएपछि स्थानीयवासी पनि खुसी भएका छन् । जिल्ला सदरमुकामका साथै भारतीय सिमानाका झुलाघाट जोड्ने छोटो बाटोका रुपमा रहेको यो सडक स्तरोन्नतिपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिकाका साथै र बझाङका नागरिकलाई समेत सहज हुनेछ ।

सडक निर्माणले गति लिएपछि खुसी लागेको सुर्नयाका सुरेश महराले बताए । उनले भने, “यसअघि कच्ची सडकका कारण हिउँदमा धुलाम्मे हुने, बर्सातमा हिलाम्मे भएर जोखिपूर्ण यात्रा गर्नुपरेको थियो । अब कालोपत्र भएपछि सहज हुने र सदरमुकाम पनि छिटो पुगिनेछ ।”

दुई दशकपछि सडक निर्माणले गति लिएको भए पनि समयमै कालोपत्र सम्पन्न हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् । प्रदेशको गौरवको योजनाअन्तर्गत यो सडकको स्तरोन्नति पश्चात् नागरिकको जीवनस्तर सुधार हुनाका साथै ग्रामीण अर्थतन्त्रमा सुधार आउने पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमको भनाइ थियो ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !