राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न

आजभोलि

काठमाडौँ । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ ।

त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गरे ।

शो–जम्पतर्फ सहसेनानी राजेश श्रेष्ठ प्रथम तथा सिपाही रामशरण न्यौपाने द्वितीय भए भने म्युजिकल राइडतर्फ सहसेनानी रोजिना महत प्रथम र सहसेनानी सफलता श्रेष्ठले द्वितीय पुरस्कार प्राप्त गरे ।

यसअघि राष्ट्रपति पौडेलले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुभयो भने नेपाली सेनाको टुकडीले उहाँलाई राष्ट्रपति सलामी प्रदान गरेको थियो ।

समारोहमा ब्यानर प्रदर्शनी गर्नुका साथै अश्वकलाअन्तर्गत टाँगन र चार्जर घोडा दौड, शो जम्प, क्याभलरी ड्रिल राइड र डग शो, घोडचढी आर्चरी, महिला सवार सिक्सवार, म्युजिकल राइड, हङ्गेरियन पोष्टवारलगायतका विविध रोमाञ्चक कला प्रदर्शन गरिएको थियो ।

घोडेजात्रा अत्यन्तै पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीनकालदेखिनै काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयका रूपमा घोडेजात्रा मनाउने गरिँदै आएको छ । कार्यक्रममा घोडेजात्राको इतिहास गुरुमापाको कथा नामक गीती नाटक प्रस्तुत गरियो ।

यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्नुका साथै जात्राले देशमा सुमङ्गल ल्याउने जनविश्वास छ । चैत्र कृष्णपक्षको औँसीका दिन काठमाडाँैको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच सेना र प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य अनि अभ्यास प्रदर्शन गर्ने पुरानै चलन हो ।

घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छ । वैदिक सनातन संस्कारमा पनि सबैभन्दा पुण्य प्राप्त हुने महान यज्ञ नै ‘अश्वमेध यज्ञ’ हो, जसमा सैयौँका सङ्ख्यामा घोडालाई स्वतन्त्र गरिन्छ र ती घोडा जहाँ–जहाँ सम्म पुग्दछन् त्यहाँ शान्ति, सौहार्दता र आनन्द रहने विश्वास गरिन्छ ।

सेनाले अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाको सम्मान अनि सहकार्यमा टुँडिखेलमा घोडेजात्रा मनाउँदै आएको छ । घोडालाई मानिसको दैनिक जीवन र ठूला युद्धमा समेत प्रयोग गरिँदै आएको छ । हिमाली क्षेत्रमा अझै पनि प्रमुख यातायातको साधनका रूपमा घोडाको प्रयोग हँुदै आएको छ ।

टुँडिखेलमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रिगणलगायत विशिष्ट महानुभाव उपस्थित थिए ।

संवैधानिक निकायका प्रमुख, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि पनि घोडेजात्रा हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा सहभागी विशिष्ट पाहुनाहरूलाई प्रधानसेनापति प्रभुराम शर्माले स्वागत गरेका थिए ।

घोडेजात्रामा प्रयोग हुने ६६ वटा घोडामध्ये बग्गीका १०, दौडसहित अश्वकलाका लागि ४६ र दौड विशेषका लागि १० पोनी घोडा रहेको निर्देशनालयले जनाएको छ ।

उक्त समारोह हेर्न टुँडिखेल वरपर नरनारीको बाक्लो उपस्थिति थियो भने नेपाल टेलिभिजनलगायतका विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । घोडे जात्राका अवसरमा टुँडिखेलभित्र घोडाका ठूला–ठूला आकृतिसहितका फ्लेक्स बोर्ड राखिएको थियो ।

  • ७ चैत्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !