पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आजभोलि

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वन गर्नुपर्ने बताएका छन् ।

आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा उनले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार सामग्री प्रकाशन गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन् । अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ ।’

अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो । त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।

‘परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ । त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ,’ उनले भने । उनले गुणस्तरीय पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए ।

आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण भएको बताए ।

‘पत्रकारिता गर्दैगर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ । पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ । धेरै साथीहरू पत्रकारिताको अनुभवबिना आउँदा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ ।’

उनका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हरकोही पत्रकारजस्ता देखिन्छन् । तर आमसञ्चारमाध्यममा आउने जो–कोही पत्रकार होइनन् । ‘अरुभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमूलक समाचारका लागि आउने हो,’ उनले भने । आचार्यले आमसञ्चारमाध्यमको पहुँचको प्रलोभनमा अनलाइन सञ्चारमाध्यम सञ्चालन नगर्न आग्रहसमेत गरे ।

काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । प्रवक्ता दीपक खनालले आचारसंहिता अभिमुखीकरण कार्यक्रमले एक वर्ष पूरा गरेको जानकारी दिए । गत वर्ष २०७८ चैत ११ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमा विभिन्न छ सय ७१ अनलाइन सञ्चारमाध्यमका एक हजार ४० जना सहभागिता जनाएका छन् । अध्यक्ष बस्नेतको नेतृत्वमा प्रशिक्षणको कार्यक्रम अघि बढेको हो ।

उनले भने, ‘अनलाइन सञ्चारमाध्यमको सङ्ख्या तीन हजार बढी पुगेको छ । आचारसंहिता उल्लङ्घनको उजुरी र गुनासा पनि यही सञ्चारमाध्यमको धेरै छ । नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अभिमुखीकरण दिइरहेका छौँ ।’

अभिमुखीकरणका लागि काउन्सिलले सञ्चारमाध्यमबाट रकम सङ्कलन गर्ने गरेको छ । सीमित स्रोत साधनका बाबजुद अभिमुखीकरण कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउने गरेको उनले बताए ।

‘विभिन्न आमसञ्चारमाध्यमको अनुभव भएका पत्रकार केही प्रतिशत छन् । अन्य क्षेत्रमा संलग्नको आकर्षण बढी देखिन्छ । पत्रकारिताबारे कम अनुभव र कम जानकार सञ्चालकका लागि यस कार्यक्रम प्रभावकारी भएको पाएका छौँ। सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ उनले भने ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !