पुल निर्माण हुने भएपछि स्थानीय खुसी

आजभोलि

भजनी । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् ।

लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको थिएन ।

टीकापुर नगरपालिकाका कमल बुढा पुल बन्ने खबरले खुसीको आभास भएको बताउछन् । उनी त्यहीँ सनकट्टीको बाटो हुँदै दैनिक ओहोरदोहोर गर्छन् । घर टीकापुर भए पनि व्यापारका लागि बर्दियाको गेरुवा गाउँपालिका शान्तिबजारमा गइ्ररहनुपर्छ । आवतजावतका लागि डुङ्गा आवश्यक पर्छ ।

“हिउँदमा कर्णालीमा पानी कम हुन्छ । डुङ्गामा सवार गर्दा खासै डर लाग्दैन”, कमलले भने, “बर्खाको उर्लँदो भेलमा किनारमा नपुग्दासम्म मृत्युले झस्काउँछ । पुल बनेपछि सहजरुपमा आवागमन हुने आशा पलाएको छ ।”

टीकापुरका सुन्दर चौधरी मोटरसाइकलमा व्यापार गर्छन् । उनी बिहानै चाउमिनलगायत अन्य सामान लिएर बर्दिया पुग्छन् । उनको त्यो दैनिकीजस्तै हो । बर्दिया पुग्नका लागि उहाँ राजापुरको बाटो जानुपरे सत्ती पुल प्रयोग गर्छन् । नभए त्यहीँ सन्कट्टीमा सञ्चालन हुँदै आएको डुङ्गा ।

“दैनिक बर्दिया जाँदा खर्च बढेको छ भने जोखिम पनि उत्तिकै छ”, चौधरी भन्छन्, “आफूले चाहेको बेला डुङ्गा पाइँदैन । साँझ समयमा पुग्नुपर्छ भने बिहान समय मिलाएर पुग्नुपर्छ ।” पुल निर्माणको खबरले टीकापुर र बर्दियाको दुरी छोटो बनाउने विश्वास चौधरीले व्यक्त गरे ।

सुदुरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण भएपछि दुई प्रदेश तथा टीकापुर र बर्दियाको व्यावसायिक सम्बन्ध स्थापित हुने अनुमान गरिँदै आएको छ । सन्कट्टीमा पुल निर्माणकै लागि कैयौँ पटक बहस र छलफल भएको थियो भने सङ्घीय सरकार समक्ष ‘डेलिगेशन’ पनि पुगेको थियो ।

विसं २०७४ मा सुदूरपश्चिम प्रदेश सरकारले पुल निर्माणलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको थियो । तर दुई प्रदेशसँगको विषय भएका कारण प्रदेशको त्यो योजनाले काम गर्न नसकेको सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल बताउछन् ।

“पुलका लागि निकै मेहनत गर्नुप¥यो । कहिले सङ्घीय सरकार त कहिले प्रदेश सरकारसँग समन्वय र सहकार्य भयो”, डा रावलले भने, “अन्ततः सङ्घीय सरकारले हाम्रो आवाज सुनेको छ । अब टीकापुर र बर्दियाको व्यापारिक सम्बन्धलाई मजबुत बनाउने अपेक्षा लिएका छौँ ।”

व्यापारीहरूको संस्था टीकापुर उद्योग वाणिज्य सङ्घले पनि पुल निर्माणको पहल गर्नका लागि महोत्सवको आयोजना ग¥यो । महोत्सव सम्पन्न भयो तर पुल निर्माणको योजनाले पूर्णता पाउन सकेन ।

अहिले पुल निर्माणका लागि सङ्घीय सरकारले रसुवा कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरेर काम अगाडि बढाएको छ । गएको मङ्सिरमा भएको सम्झौताअनुसार ५३ महिनामा पुल निर्माण गरिसक्नुपर्ने छ । करिब एक अर्बभन्दा बढीको लागत रहेको उक्त पुल सात सय ५० मिटर लम्बाइको रहने निर्माण कम्पनीका इञ्जिनियर कृष्ण ढुङ्गेलले बताए ।

“सम्झौता भएपछि स्थलगत अध्ययन गरेर डिजाइनको काम भइरहेको छ । डिजाइनको काम सकिएपछि लगत्तै काम सुरु गर्छौँ”, उनले भने, “सम्भवतः एक डेढ महिनामा डिजाइनको काम सम्पन्न हुन्छ होला । त्यो समयसम्म कर्णाली नदीमा पानीको बहाव नबढे काम सुरु गर्छौँ, नभए बर्खापछि काम सुरु हुन्छ ।”

टीकापुर नगरपालिका–२ का वडाध्यक्ष दीपक चौधरीले टीकापुरका लागि सनक्ट्टीको पुन निकै महत्वपूर्ण हुने बताए । उनले टीकापुर र बर्दियाको सम्बन्ध निकै नजिक रहेको बताउँदै दैनिक सयौँ नागरिकले डुङ्गाको सहारामा कर्णाली वारपार गर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

“वर्षौँदेखि त्यहीँ एउटा सपना थियो सन्कट्टीमा पक्की पुल । जसका लागि कैयौँपटक राज्यका अधिकांश निकायमा पुगेका थियौँ”, वडाध्यक्ष चौधरीले भने, “आज त्यो राज्यले सुनेको छ । नागरिक खुसी छन् । पुल निर्माण भएपछि टीकापुरको व्यवसायमा टेवा पुग्ने विश्वास छ ।”

 

  • १२ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !