सवारी अनियमितता बढ्दो

आजभोलि

काठमाडौं । पासाङल्हामु मार्ग अन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारीसाधन अनियमित तवरले सञ्चालन हुन थालेपछि ट्राफिक कारबाही तीव्र पारिएको छ । यातायात व्यवस्था विभागको अनुमति नलिइ आफूखुसी आउने, सवारी साधनमा ब्लूबुक नराख्ने, सवारी चालक अनुमतिपत्र नल्याउने, हल्का सवारी चालकको अनुमति पत्रले ठूला कन्टेनरको चालक बन्ने जस्ता विकृति भेटिन थालेपछि ट्राफिक प्रहरीले परीक्षण एवं कारबाही तीव्र रूपमा अगाडि बढाएको हो ।

चालु आर्थिक वर्षको गत साउनदेखि फागुनसम्मको परीक्षणबाट दुई हजार नौ सय २० वटा सानाठूला सवारीसाधन कारबाहीमा परिसकेका छन् । जाँच परीक्षण कार्य भने तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला ट्राफिक रसुवाले जनाएको छ । आठ महिनामा सात सय २५ मोटरसाइकल एवं छ सय २९ कार जीप, एक सय आठ वटा बस र एक हजार चार सय ५८ ट्रक टिपरलाई कारबाही गरिएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए ।

यो वर्ष सवारीसाधन सञ्चालनको प्रक्रिया नपुर्याइ आफूखुसी हिँड्ने चालक एवं सवारीधनीको सङ्ख्या क्रमशः वृद्वि हुँदै गएको ट्राफिक प्रहरीको विश्लेषण रहेको छ । सवारी नियम उलङ्घन गर्ने सवारी चालक उपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधान अनुरूप आठ महिनामा असूल गरिएको रू ३० लाख ९४ हजार पाँच सय जरिवाना राज्यकोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक राजस्व अभिलेखकर्ता जयराम लामिछानेले बताए ।

यस्तै चालु आवको आठ महिनामा रसुवाका सडक मार्गका विभिन्न भागमा सानाठुला १२ सवारी साधन दुर्घटना भएको थियो । गत भदौ १७ गते रसुवाको तारूकेमा भएको डुङ्गा दुर्घनाबाट दोलखा गौरीशङ्करका २३ वर्षीय विश्वनाथ भुजेल, कात्तिक ४ गते साङ्जेन हाइड्रो पावरमा भएको लोडर दुर्घटनाबाट दाङ राप्तीका ३६ वर्षीय वसन्तराज घिमिरे, कात्तिक १७ मै रसुवा कालिका– ४ कटुञ्जेमा भएको मोटरसाइकल दुर्घनाका कारण सोही स्थानका ८४ वर्षीय टीकानाथ न्यौपाने र मङ्सिर ५ गते साङ्जेन हाईड्रो पावरको बाँधमा भएको स्काभेटर दुर्घटनामा रसुवा गोल्जुङका ४५ वर्षीय कामी घलेको दुःखद निधन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुई महिलासहित १० जना भने उपचारपछि घर फर्केको जनाइएको छ । कुनैपनि सवारी चालकले नियमानुसारको कागजपत्र साथमा राख्न, सडकको अवस्था हेरेर मात्र गतिलिन, छतमा कुनैपनि यात्रु नराख्न, आफ्ना सवारी साधनमा जान लागेका यात्रुलाई बीचबाटोमा नछोड्न, यात्राका लागि आफ्ना सवारी साधनमा बसेका यात्रुलाई शौचालय गराउन आवश्यक स्थानमा रोकी सहयोग गर्दै ट्राफिक नियम कानुनको पूर्ण पालना गर्न चालकलाई अनुरोध गरिएको निमित्त इन्चार्ज घिमिरेले बताए ।

  • १३ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !