काठमाडौँमा मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै

आजभोलि

काठमाडौँ । तीन वर्षदेखि बर्सेनि हिउँदको समयमा काठमाडौँ ल्याइएको मेलम्चीको पानी यो वर्ष पनि हिउँदमा मात्रै आउने भएको छ । वर्षामा समेत पानी ल्याउने गरी तयारी अघि बढेको छैन ।

तीन वर्ष पहिले मेलम्चीमा गएको ठूलो बाढीका कारण क्षति भएको संरचना पुनःनिर्माणका लागि कुनै निर्णय नहुँदा यो वर्ष पनि हिउँदपछि मात्रै मेलम्चीको पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । गत वर्ष जस्तै यस वर्ष पनि बर्खा सुरु भएपछि बन्द गर्नुपर्ने अवस्था रहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

वर्षाको समयमा सञ्चालनका लागि केही गर्न सकिएको छैन । केही साना संरचना थपेर बाह्रै महिना चलाउन सकिन्छ कि भनेर डिजाइन गरिएको भए पनि निर्णय हुन नसकेर काम हुन नसकेको उनले बताए ।

वैकल्पिक प्रणालीको गेट नम्बर १ मा केही साना संरचना राख्न सकिएमा वर्षायाममा पनि चलाउन सकिने देखिएको आयोजनाले जनाएको छ । संरचना थप गरेर वर्षामा सञ्चालनका लागि डिजाइन फाइनल भए पनि त्यसको मूल्याङ्कन गरेर बजेट व्यवस्थापन भएपछि मात्रै ठेक्का लगाइने उनको भनाइ छ । हेडवक्र्स पूरै क्षति भएको हुँदा मर्मत मात्रै गरेर काम हुनसक्ने अवस्था छैन ।

आयोजनास्थलभन्दा माथिल्लो भागमा अझै पनि पहिरोको जोखिम छ । हेडवक्र्स पहिले भएको ठाउँमा बनाउने हो भने त्यसको रोकथामको काम पहिले गर्नुपर्ने उनले बताए ।

विसं २०७८ असारमा आयोजनाको निर्माण थोरै मात्रै बाँकी हुँदा बाढीले अम्बाथानस्थित आयोजनास्थलमा ठूलो क्षति गराएको थियो । केही दिन पहिले मात्रै सुरुङ बन्द गरिएकाले त्यहाँ क्षति पुग्न नपाएपछि हेडवक्र्सलगायत त्यहाँका अरु भौतिक संरचनामा क्षति पुगेको थियो । हेडवक्र्स सम्पन्न नभएकाले त्यतिबेला अस्थायी बाँधमार्फत पानी पथान्तरण गरिएको थियो ।

दुई वर्ष पहिलेको बाँकी काम अहिलेसम्म पूरा भएको छैन । त्यतिबेला गेटको फ्रेम जडान भइसकेर त्यसको प्यानल जोड्न बाँकी थियो । फ्रेम जोड्ने ठाउँ नै क्षति भएकाले थप काम हु्न नसकेको सूचना अधिकारी पन्तले बताए ।

अहिले हेडवक्र्स पुनःनिर्माण गर्नुपर्नेछ । हेडवक्र्स कस्तो बनाउने भन्नेमा नै त्यसको लागत फरक हुने उनले बताए । पहिलेको जस्तो बनाउन झण्डै रू एक अर्ब लाग्ने देखिएको छ ।

हेडवक्र्स कस्तो र कहिलेसम्म बनाउने भन्ने नीतिगत निर्णय हुनुपर्ने भएपनि अहिलेसम्म छलफल नै नभएको सूचना अधिकारी पन्तले बताए । दातृ निकाय एशियाली विकास बैंकले संरचनामा पुगेको क्षतिका विषयमा अध्ययन गरिसकेको र अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा दिएपछि निष्कर्षका आधारमा निर्णय हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “एडिबीबाट निष्कर्ष आएपछि नै सरकारले पुनःनिर्माणका लागि निर्णय गर्नसक्छ ।” मेलम्चीको पानी काठमाडौँमा गत मङ्सिरदेखि पुनःवितरणसुरु गरिएको थियो ।

  • १९ चैत्र २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !